हाँसपालनबाट मनग्य आम्दानी


१५ असार २०७९, बुधबार

चितवन । पछिल्लो समय हाँसका परिकारको पारखी बढ्दै जाँदा हाँसपालनतर्फ चितवनका किसान आकर्षित हुन थालेका छन् । हाँस पाल्न र बिक्रीका लागिसमेत सहज हुन थालेपछि हाँसपालनतर्फ किसान आकर्षित हुन थालेका हुन् ।

भरतपुर-१९ शारदानगरमा हाँसपालन गर्दै आएका शङ्कर महतोले हप्तामा ५०० वटा हाँसका चल्ला बिक्री गर्दै आएका छन् । महतोले इमानियल हाँस फार्म तथा ह्याचरी दर्ता गरेर करिब दुई हजार हाँस पाल्दै आएका छन् ।

उनले हाँस बिक्री वितरणका लागि बजार सहज भएकाले यसतर्फ आकर्षित भएको बताए । ‘मैले पहिले बुङ्गुरपालन गरेँ, माछापालन गरेँ, च्याउ खेती गरेँ । तर, विगत दुई वर्षदेखि हाँसपालन सुरु गरेको छु’ महतोले भने, ‘हाँसबाट निकै नै सन्तुष्टि मिलेको छ । यसको बजार खोज्न हिँड्नु परेको छैन । फार्मबाटै बिक्री हुने गरेको छ ।’ महतोले आफ्नै फार्मबाट तयारी हाँस, हाँसका चल्ला तथा अण्डा बिक्री गर्दै आएका छन् ।

उनले प्रतिचल्ला रु १८० सम्म बिक्री गर्दै आएको बताए । त्यस्तै, हाँसको अण्डा रु ३० प्रति गोटा तथा तयारी हाँस प्रति किलोको रु ३५० मा बिक्री गर्ने गरेको महतोले बताए । ‘हाँसको मासु तथा अण्डाबाट धेरै फाइदा हुने भएकाले र हाँसको मासु मीठो हुने भएकाले मानिस फार्ममै आएर हाँस तथा चल्ला र अण्डा किनेर लैजाने गरेका छन्’, महतोले भने, ‘पछिल्लो समय रेष्टुरेन्ट तथा होटलले छोइला बनाउनका लागि समेत हाँसको माग गरेका छन् ।’

सानो क्षेत्रफलमा पनि राम्रोसँग हाँसपालन फस्टाएको र धेरै दुःख नगरी राम्रो आम्दानी लिन सकिने भएकाले हाँसपालनमा लागेको उनको भनाइ छ । महतोले भने, ‘दाना हुँदा दाना दिने, होइन भने घाँसबारीमा छोडिदिएमा पनि हाँस अघाउने गरेको छ ।’ माछा पोखरी र धानबारीमा हाँसपालन गर्दा दोहोरो फाइदा लिन सकिन्छ ।

‘धानखेती भएको ठाउँमा माछापालन गर्दा हाँसले धानमा हुने अनावश्यक झारहरु खाने तथा नष्ट गर्ने गर्छ तर धानलाई कुनै पनि नोक्सान गर्दैन’, महतोले भने । त्यस्तै माछा पोखरीमा हाँसपालन गर्दा पोखरीमा भएका अनावश्यक घोँगी, सिपी तथा सर्पहरु हाँसले खाइदिन्छ जसले गर्दा माछा सप्रिन पाउँछ । पोखरीमा हाँस पालन गर्दा हाँसले पोखरीमा पौडी खेल्दा र घोँगी टिप्न जाँदा पानीमा अक्सिजनको मात्रा समेत बढेर माछालाई फाइदा पुग्ने बताइन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७