यी हुन् फिल्म निर्माणमा लागेका नेपाली हिरोइन


३० आश्विन २०७४, सोमबार
rekha thapa33

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता नपाएकाले पनि केकी आफूलाई त्यो फिल्मको निर्माताका रूपमा परिचय गराउन निको मान्दिनन् । अब भने केकी बकाइदा निर्माताका रूपमा प्रस्तुत हुने तयारीमा छिन् ।

आकाश अधिकारीलाई निर्देशक लिएर अभिनेत्री श्वेता खड्काले ‘कान्छी’ फिल्म निर्माण गरेकी छिन् । ‘कहाँ भेटिएला’ र ‘कोहिनूर’जस्ता ब्लकबस्टर फिल्मकी हिरोइन श्वेताको कान्छी माघ अन्तिम साता दर्शकमाझ आउने तयारीमा छ । श्वेता अब निरन्तर फिल्म निर्माणमा लाग्ने सोचमा छिन् । सोहीअनुरूप उनले कान्छीबाट निर्माण करिअर सुरु गरेकी हुन् ।

rekha thapa33

नीता ढुंगानाले गत भदौमा आफूले फिल्म निर्माण गर्न लागेको बताउँदै नीता फिल्म प्रोडक्सन उद्घाटन गरिन् । आफ्नो जन्मदिनको अवसर पारेर उनले पत्रकार सम्मेलन नै गरी आफ्नो नामको फिल्म कम्पनी घोषणा गरेकी हुन् । बालकलाकार हुँदै हिरोइन बनेकी नीताका अधिकांश फिल्म फ्लप भए । अब उनी आफूलाई फिल्म निर्माताको रूपमा अघि बढाउन चाहन्छिन् । ‘बच्चैदेखि कलाकारितामा लागियो । अरू काम गरिएन,’ उनी भन्छिन्, ‘त्यसैले अब फिल्म निर्माणमा लाग्दै छु ।’

पछिल्लो समय फिल्म निर्माणमा निकै आकर्षण बढेको छ । नयाँ निर्माताको त कुरै भएन, वर्षांदेखि फिल्म अभिनयमा निरन्तर रहेका हिरोइनहरूले समेत धमाधम आफूलाई फिल्म निर्माता बनाउँदै लगिरहेका छन् ।अलि पुरानाको प्रसंग कोट्याउने हो भने, एक समयकी चल्तीकी हिरोइन करिश्मा मानन्धरले आफूलाई अभिनयका साथै फिल्ममा पनि होमिन् । उनले पति विनोद मानन्धरका साथ ‘ढुकढुकी’, ‘बाबुसाहेब’ र ‘फागु’ फिल्म निर्माण गरिन् । पछिल्ला दुईटा फिल्मले उनलाई आर्थिक मुनाफा दिएनन् । त्यसकारण अचेल उनी निर्माणमा सक्रिय छैनन् । फिल्मले नाफा नदिएकाले तत्काल नयाँ फिल्म बनाउने योजना उनको छैन ।

पुरानी अभिनेत्री शर्मिला मल्लले पति कृष्ण मल्लसँग मिलेर ‘बादल’ र ‘लगनगाँठो’ फिल्म निर्माण गरेकी थिइन् । बादल एचआइभी एड्स रोगको कथामा निर्माण गरिएको थियो भने लगनगाँठोमा पारिवारिक प्रेमकथा थियो । दुवै फिल्मले मल्ल दम्पत्तिलाई मुनाफा दिएनन् । त्यसकारण उनीहरूले फेरि फिल्म बनाउने आँट गरेनन् ।

‘काली’ फिल्मबाट फिल्म निर्माणमा एकल रूपमा प्रस्तुत भएकी रेखा थापाले त्यसपछि ‘हिम्मतवाली’, ‘रामप्यारी’ र हाल ‘रुद्रप्रिया’ निर्माण गरेकी छिन् । फिल्म अभिनयका साथै निर्माणमा पनि अहिलेसम्म रेखाको दख्खल ‘बरकरार’ देखिएको छ । रेखाले हिम्मतवालीबाट आफूलाई निर्देशक पनि बनाएकी थिइन् । तर, उनले फिल्म निर्देशनलाई निरन्तरता दिएकी छैनन् । ‘म जसरी तनमन लगाएर अभिनय गर्छु, फिल्म बनाउँदा पनि ती सबै कुरालाई ध्यानमा राख्छु,’ उनी भन्छिन्, ‘त्यसैले मलाई फिल्मले सधैँ नाफा दिएको छ ।’ आफू बर्सेनि फिल्म बनाउने ध्याउन्नमा रहेको उनी बताउँछिन् ।

झरना थापाले फिल्म अभिनयका साथै निर्माणलाई पनि अघि बढाउँदै आएकी हुन् । पति सुनीलकुमार थापाका साथ उनले ‘धर्मसंकट’ निर्माण गरिन् । त्यसपछि ‘गोर्खाली’ हुँदै ‘ए मेरो हजुर’, ‘तक्दिर’, ‘फेसबुक’ र हालै ‘ए मेरो हजुर–२’ निर्माण गरिन् । ए मेरो हजुर–२ बाट उनी निर्देशक पनि बनिन् । झरना सफल अभिनेत्रीका साथै सफल निर्माता र निर्देशक पनि हुन् । उनको फेसबुकबाहेक सबै फिल्म हिट छन् । ‘फिल्म नै जानियो, फिल्म नै बुझियो,’ उनी भन्छिन्, ‘त्यसैले फिल्म नै बनाइन्छ ।’ अब उनी ‘ए मेरो हजुर–३’ र ‘भागवत् गीता’ गरी दुईटा फिल्मको तयारीमा छिन् ।

फिल्म बनाएर नफापेका हिरोइन पनि थुप्रै छन् । करिब सात दर्जन फिल्ममा अभिनय गरेकी रेजिना उप्रेतीले कविता श्रेष्ठसँगको संयुक्त लगानीमा ‘वरदान’ फिल्म निर्माण गरिन् । राजेश हमाल, करिश्मा मानन्धर, रेजिना आफँै, जयकिसन बस्नेतलगायतले अभिनय गरेको बरदान असफल भयो । त्यसपछि रेजिनाले न त फिल्म बनाइन्, न अभिनयमै सक्रिय हुन सकिन् । बरु उनी घरजमतिर लागिन् ।

ऋचा घिमिरेले पति शंकर घिमिरेका साथ ‘ब्रेकफेल’ बनाइन् । करिब एक करोड बजेटको सो फिल्म फ्लप भयो । त्यसैगरी, ऋचाले निर्माण गरेको ‘तुलसी’ भने अझैसम्म पनि रिलिज भएको छैन । घिमिरे दम्पत्ति चार वर्षअघि अमेरिका उडेर उतै ‘सेटल’ भए । उनीहरूले पुनः फिल्म बनाउने सम्भावना कम छ ।

नेपाली फिल्म उद्योगमा तीनवटी ऋचा छन् । ऋचा घिमिरे, ऋचा शर्मा र ऋचासिंह ठकुरी । ती तीनैले फिल्म निर्माण गरेका छन् । घिमिरेको बारेमा त कुरा भइसक्यो । शर्माले सिजी इन्टरटेन्मेन्टसँगको सहकार्यमा ‘भिसा गर्ल’ निर्माण गरेकी थिइन् । चलेन । त्यसपछि उनले अर्पण थापासँग मिलेर ‘आधा लभ’ बनाइन् । आधा लभ त झनै चलेन । अहिले उनले ‘सुनकेशरी’ नामक हरर फिल्म बनाइरहेकी छिन् । यसपालि भने सफल हुने दाबी उनको छ ।

अर्की ऋचा अर्थात् ऋचासिंह ठकुरीले बिहेपछि पतिका साथ मिलेर ‘सुपर गोर्खे’ नामक फिल्म निर्माण थालेको उहिल्यै हो । तर, त्यो फिल्म अहिलेसम्म दर्शकमाझ आएको छैन । ‘नाइँ नभन्नू ल’, ‘म तिम्रो भइसकेँ’, ‘मनमनै मन पराएँ’, ‘मन पराएँ माया लाएँ’, ‘धड्कनभित्र’, ‘खुड्किलो’लगायतका फिल्मकी हिरोइन ऋचासिंहको अभिनययात्रा बिहेपछि लगभग रोकिएको अवस्थामा छ ।

अभिनेत्री नम्रता श्रेष्ठले ‘सोल सिस्टर’ नामक फिल्म निर्माण गरिन् । तर, उनको त्यो फिल्म हलमा आए–गएको पत्तो भएन । अब उनी ‘सनराइज टकिला’ नामक फिल्म बनाउने सोचमा छिन् । उनको सो फिल्म कहिले बन्छ, त्यो भने उनी स्वयम्लाई थाहा छैन ।

पूर्वमिस नेपाल तथा ‘गुडबाइ काठमाडौँ’की अभिनेत्री माल्भिका सुब्बाले ‘हाउ फन्नी’ नामक फिल्म निर्माण गरिन् । नीलु डोमाले निर्देशन गरेको सो फिल्मले माल्भिकालाई आर्थिक मुनाफा
दिएन । त्यसकारण उनले पुनः अर्को फिल्म सुरु गरेकी छैनन् ।

शिल्पा पोखरेल पनि निर्मात्री बनेकी छिन्– ‘मंगलम्’ फिल्मबाट । निर्माता छविराज ओझाको आडमा उनी मंगलम्की निर्मात्री बनेकी हुन् । पहिला फूलपातिमा प्रदर्शन गर्ने तयारी गरिएको मंगलम् अब फागुनको पहिलो साता दर्शकमाझ आउनेछ । मंगलम्ले निर्मात्रीको रूपमा शिल्पाको मंगल गर्ला कि नगर्ला, अहिले नै भन्न कसरी सकिन्छ र १

फिल्म निर्माणमा लागेकी अर्की अभिनेत्री हुन्, निशा अधिकारी । निशाले ‘झ्यानाकुटी’ नामक फिल्म निर्माण गरेकी छिन् । विशुद्ध निर्मात्री बन्ने ध्येयबाट प्रेरित भएकाले निशाले झ्यानाकुटीमा अभिनय भने गरेकी छैनन् । उनको फिल्ममा बेनिशा हमाल हिरोइन छिन् । निशाको झ्यानाकुटी मंसिर १ बाट प्रदर्शन हँुदै छ ।

‘नोभेम्बर रेन’ फिल्ममा डल्लीको भूमिकामा प्रस्तुत भएकी छुल्ठिम गुरुङको अभिनयले तारिफ पाएको थियो । सोही तारिफका आधारमा उनले आफूलाई एकाएक निर्मातामा बढुवा गरिन्– ‘डायरी’ फिल्मबाट । गत जेठमा प्रदर्शित डायरीले कुनै कमाल देखाउन सकेन । डायरीमा छुल्ठिमका साथै रेखा थापा प्रमुख भूमिका थिए । डायरीले डुबाएकाले छुल्ठिम पुनः फिल्म बनाउने योजनामा पुगेकी छैनन् ।

पूजना प्रधानले ‘चकलेट’ फिल्म निर्माण गरिन् । चकलेटबाट उनलाई ठूलो आशा थियो । निर्मल शर्मा निर्देशित चकलेटले पनि मुनाफा कमाएन । लगानीसमेत कभर नभएकाले पूजनाले पुनः फिल्म बनाउने आँट गरेकी छैनन् ।

आफ्नै लगानीमा फिल्म बनाउने अनि आफैँ हिरोइन खेल्ने ‘हिरोइन’ पनि थुप्रै छन् । शुभेच्छा थापा आफँै फिल्म बनाउँछिन्, आफँै हिरोइन खेल्छिन् । अहिलेसम्म उनका न कुनै फिल्म हिट भएका छन्, न त हिरोइनका रूपमा उनको करिअर नै उकालो लागेको छ । उनले आफँैलाई नचिनेर ‘म को हुँ रु’ त्यसपछि ‘मिस नेपाल’ निर्माण गरिन् । पछिल्लो केही वर्षदेखि उनी निर्देशक राजु गिरीसँग ‘टाइअप’ भई फिल्म निर्माण र अभिनय गरिरहेकी छिन् । जेनी कुँवरले ‘घायल’ र ‘हलचल’ गरी दुई फिल्म निर्माण गरिनन् मात्रै, आफैँ हिरोइन भइन् ।

तर, उनलाई फिल्मले नाफा दिएन । वर्षा राउतले साबित्री खत्रीका साथ ‘काफल पाक्यो’ निर्माण गरिन् । निर्माण मात्र होइन, उनले सो फिल्ममा प्रमुख भूमिका निर्वाहसमेत गरिन् । फिल्म चलेन । त्यसपछि उनले दोहो¥याएर फिल्म बनाएकी छैनन् । पूजा शर्माले भने निर्देशक सुदर्शन थापासँगको संयुक्त लगानीमा ‘म यस्तो गीत गाउँछु’ निर्माण गरिन् । फिल्म हिट भयो । अचेल उनी ‘म यस्तो गीत गाउँछु–२’ को तयारीमा छिन् ।

-नयाँ पत्रिका दैनिकबाट

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७