विदेशमा सम्पत्ति राख्न नपाउने कानुनी व्यवस्था गर्न प्रस्ताव


१५ असार २०७९, बुधबार
sanghiya संघीय स्थानिय विकास तथा सामान्य प्रशासन मन्ज्ञालय 2 1

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशमा सम्पत्ति राख्न नपाइने कानुनी व्यवस्था गर्न संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

उनले सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकको संशोधनमा यस्तो प्रस्ताव दर्ता गरेका हुन् । सुवालले संशोधन विधेयकको प्रस्तावनामै यस्तो व्यवस्था किटान गर्न प्रस्ताव गरेका हुन् ।

प्रस्तावमा आर्थिक समानता, सामाजिक न्याय, व्यक्तित्व विकासमा समान अवसरको लागि विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था राख्नुपर्ने उल्लेख गरिएको छ । ‘नेपालीको आर्थिक समानता, सामाजिक न्याय, व्यक्तित्व विकासमा समान अवसरको लागि विदेशमा सम्पत्ति राख्न नपाउने, सम्पत्तिको सीमा निर्धारण गरी सामाजिक सुरक्षा गर्नु वाञ्छनीय भएकोले’ सांसद सुवालले गरेको संशोधन प्रस्तावमा उल्लेख छ ।

नेमकिपाले विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था संविधानमै राख्न पहल गरेको थियो । संविधान निर्माणकै क्रममा नेमकिपाले ‘नेपाली नागरिकको सम्पत्तिको सीमांकन गरिनेछ, विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गरिनेछ र जमिनमा जोत्नेको हक हुनेछ’ भन्ने संशोधन प्रस्ताव दर्ता गरेको थियो । जुन तत्कालिन संविधानसभाले बहुमतले अस्वीकृत गरेको थियो ।

संविधानमा नसमेटिए पनि नेमकिपाले यो विषयलाई निरन्तर उठाउँदै आएको छ । संविधानको धारा २५ मा प्रत्येक नागरिकलाई कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुने उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७