झापामा बाढीले पक्की पुल बगायो, बाढीले विस्थापित २८९ परिवारमध्ये १६४ घर फर्किए


१६ असार २०७९, बिहीबार
Badhi jhapa chaju khola scaled

झापा । लगातारको वर्षाका कारण आएको बाढीले झापामा एउटा पुल बगाएको छ भने एउटामा क्षति पुगेको छ । झापाको भद्रपुर नगरपालिका-१० स्थित भित्री सडकखण्डमा रहेको चैतुवारी-चैतुपारी जोड्ने करिब १२ मिटरको सेती पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

त्यस्तै अविरल वर्षाका कारण गौरीगञ्ज गाउँपालिका-१ कुञ्जिबारीस्थित हुलाकी राजमार्गअन्तर्गत बनियानी खोलामा रहेको पक्की पुलको पश्चिमतर्फको मुखको एकातिर कालोपत्रभन्दा भित्रको आधा भाग खाल्डो परेको छ । पुलमा थप क्षति हुन नदिन ठूला सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।

यस्तै जिल्लाका विभिन्न स्थानमा वर्षाका कारण विस्थापित भएका घर फर्किन थालेका छन् । गाउँबस्तीमा बाढी पसेर र पानीको सतह बढ्दै गएपछि विस्थापित भएका २८९ परिवारमध्ये १६४ परिवार घर फर्किएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । पानीको सतह घटेपछि गौरीगञ्ज-१ दास चौरीका १२ परिवार, भद्रपुर-८ सुकुम्बासी बस्तीका २६ परिवार, गौरादह-६ लेलियाका १२५ परिवार, बाह्रदशी-२ सुकुम्बासी टोलका १३ परिवार घर फर्किएका हुन् ।

त्यस्तै अदुवा खोलाको बाढीका कारण विस्थापित बाह्रदशी-२ का ६० परिवारमध्ये ४७ परिवार दक्षिणेश्वर मन्दिर र गौरीगञ्ज-१ टुनुबस्तीका १२ परिवार स्थानीय रामजानकी प्राविमा र शिवसताक्षी-४ सुकुम्बासी बस्तीका ३३ परिवार त्रिभुवन माविमा आश्रित छन् भने छिमेकीकामा शरण रहेका गौरीगञ्ज-१ भन्सार टोल अधिकारी बस्तीका १५ परिवार घर फर्कन नसकेको रेडक्रस झापाले जनाएको छ ।
यता रेडक्रस झापाले गौरीगञ्ज-१ का विस्थापत परिवारका लागि ६० थान त्रिपाल र ६० थान हाइजिन किट वितरण गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७