मुख्यमन्त्री पाण्डेले बोलाए संसदीय दलको बैठक, सत्ता हस्तान्तर गर्न लागेका हुन् ?


१७ असार २०७९, शुक्रबार
rajendra pandey

हेटौंडा । वागमती प्रदेशको सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको बैठक आह्वान गरेको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री राजेन्द्र पाण्डेले भोलि (शनिबार) बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् । आलोपालो सरकार चलाउने निणर्य कार्यान्वयन नभएको भन्दै मुख्यमन्त्री पाण्डेविरुद्ध सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रका सांसदले हस्ताक्षर संकलन थालेका छन् ।

वागमतीमा पाण्डेले ६ महिना सरकार चलाउने र त्यसपछि कांग्रेसले चलाउने सहमति भएको थियो । आठ महिनासम्म सरकार फेर्न तयारी नभएको भन्दै सत्तारूढ दल नै हटाउन लागेका छन् । यस्तोमा पाण्डेले दलको बैठक बोलाएका हुन् । पाण्डे शीर्ष नेताहरूले गरेको निर्णय कार्यान्वयन हुने बताउँदै आएका छन् ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा शनिबार सो पार्टीको बागमती प्रदेश संसदीय दलको बैठक काठमाडौंमा बस्ने भएको हो । संसदीय दलकी मुख्य सचेतक मुनु सिग्देलले दलको बैठक बोलाइएको बताइन् । कृषि तथा पशुपंक्षी विकासमन्त्री वसुन्धरा हुमागाईका अनुसार संसदीय दलको बैठकमा सहभागी हुनका लागि पार्टीका सबै सांसदलाई काठमाडौं बोलाइएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे यसअघि नै काठमाडौं पुगिसकेका छन् ।

शुक्रबार मुख्यमन्त्री पाण्डेले पार्टी नेतृत्वसँग छलफल गरेको बताइएको छ । उनले विगतमा आफूसहितले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको भन्दै सत्ता हस्तान्तरणका लागि आफू तयार रहेको नेतृत्व तहलाई बताएको स्रोतले जानकारी दिएको छ । मुख्यमन्त्री पाण्डेकै पहलमा संसदीय दलको बैठकमार्फत सत्ता हस्तान्तरणका लागि मार्ग प्रशस्त गर्न लागिएको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७