अब ४० वर्षमाथिका एकल महिलालाई भत्ता


१७ असार २०७९, शुक्रबार
money new
सांकेतिक तस्विर

काठमाडौँ । अब ४० वर्षमाथि उमेर पुगेर एक्लो जीवन बिताइरहेका विवाहित वा अविवाहित महिलाले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् ।

सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज (शुक्रबार) को बैठकमा ‘सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलमा त्यस्ता महिलालाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने प्रावधान राख्न सहमति जुटेको हो ।

त्यस्तै सम्बन्ध विच्छेद गरेर श्रीमानको सम्बन्धमा १२ वर्षदेखि नरहेका विवाहित वा अविवाहित महिलालाई पनि एकल महिलाको परिभाषाभित्र राखेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने प्रावधान पनि सर्वसम्मतिले पारित भएको समितिकी सचिव बबिता मिश्रले जानकारी दिइन् ।

बैठकले नेपाल सरकारले पिछडिएका क्षेत्रका साथै कुनै निश्चित क्षेत्र तोकी त्यस्तो क्षेत्रमा बसोवास गर्ने नागरिकलाई पनि त्यस्तो भत्ता उपलब्ध गराउन सक्ने प्रावधानसमेत राखेको छ । समितिकी सचिव मिश्रले भनिन्, ‘विवाह गरी वा नगरि एक्लो जीवनमा रहेका र ४० वर्ष उमेर पुगेका, त्यसैगरी सम्बन्ध विच्छेद गरेर अनि श्रीमानको सम्बन्धमा १२ वर्षदेखि नरहेका लैङ्गिक हिंसामा परि विवाहित वा अविवाहित रूपले एक्लो जीवन व्यतित गरिरहेका महिलालाई पनि थपेर एकल महिलाको परिभाषाभित्र राखिनु पर्छ भनेर यो संशोधनलाई समितिले स्वीकार गरेको छ ।’

समितिले कम आय भएका तथा पालनपोषण र हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएका वा त्यस्तो सदस्य भएर पनि आर्थिक रूपले विपन्न अवस्थामा रहेका अन्य एकल महिलालाई पनि असहाय एकल महिला भत्ता दिने प्रावधान समेत पारित गरेको छ । त्यसैगरी स्वघोषणा गरी सामाजिक सुरक्षा भत्ता कसैले लिन नचाहेमा उसलाई सरकारले प्रशंसा पत्रसहित सम्मान गर्ने प्रावधान समितिबाट पारित गरिएको समितिकी सचिव मिश्रले बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७