आगलागीमा परेर महिलाको मृत्यु, हत्या आरोपमा श्रीमान पक्राउ


१८ असार २०७९, शनिबार
tilaka mallik

मोरङ । मोरङको रङ्गेलीमा शुक्रबार राति एक महिलाको आगो लगाएर हत्या भएको छ । शुक्रबार राति करिब १० बजे रंगेली नगरपालिका-१ बिर्ताबजारमा स्थानीय ३१ वर्षकी बबिता मल्लिकको मट्टितेल छर्की आगो लगाई हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले हत्या आरोपमा उनका श्रीमान तिलक मल्लिकलाई पक्राउ गरेको छ ।

शुक्रबार राति घरायसी विवादमा तिलकले श्रीमती बबितालाई मट्टितेल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् । ‘घरायसी विवादमा तिलकले मट्टितेल छर्केर आगो लगाएको देखिन्छ, आगलागीबाट उनीहरुको घर पनि जलेको छ’ उनले भने ।

आगलागीबाट घाइते बबितालाई प्रहरीले उद्दार गरी उपचारका लागि कोशी अस्पताल पठाएको थियो । उनको उपचारकै क्रममा शनिबार विहान ६ बजे मृत्यु भएको डीएसपी श्रेष्ठले बताए । प्रहरीका अनुसार उनीहरुको विवाह भएको ५ वर्ष भएको थियो । घरमा उनीहरु दुई जना मात्र बसोबास गर्थे ।

बबिताका श्रीमानमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट घरभित्रको लत्ता कपडा, भाडाकुँडा र अन्नपात पनि जलेको छ । पक्राउ परेका तिल्काले खाना खाने समय राति ९ः४५ बजेतिर पत्नीसँग विवाद भएको बताएका छन् । सोही क्रममा एक्कासी घरमा आगो लागेको देखिएकाले प्रहरीले अनुसन्धान थालेको हो । आगो निभाउनुको साटो तिल्का केही पर भागेकाले पनि घटना शंकास्पद देखिएको डीएसपी श्रेष्ठले बताएका छन् । आफ्ना दाजु जगदीशको मृत्यु भएपछि तिल्काले नातामा भाउजू पर्ने बबितासँग पाँच वर्षअघि विवाह गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७