पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : रिट्ठेपानी डाँडा काट्न खुल्यो बाटो


१९ असार २०७९, आईतवार
pokhara airport

काठमाडौं । भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘एप्रोच’ मा पर्ने पूर्वपट्टिको रिट्ठेपानी डाँडा काट्ने बाटो खुलेको छ । हवाई क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र वन विभागबीच डाँडा र त्यहाँका रूख काट्न सहमति भएको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार विमानस्थलको धावनमार्गको एप्रोचमा पर्ने पूर्वपट्टिको डाँडा अग्लो हुँदा हवाई उडान र अवतरणमा समस्या आउने भएपछि कटानका लागि प्रक्रिया अघि बढाइएको थियो ।

विभागसँगको सम्झौतापछि डाँडासहित त्यहाँका ६ सय रूख काट्ने बाटो खुलेको उनले जानकारी दिए । ‘रूख मात्र काटेर हुँदैन । डाँडाको उचाइ पनि घटाउनु पर्छ । रूखका कारण डाँडा कटान रोकिएको थियो । अब बाटो खुलेको छ,’ उनले भने, ‘वन विभागसँगको सहमति बिना रूख काट्न नपाउने भएपछि प्रक्रिया लम्बिएको थियो। तर अब सहज हुनेछ ।’

डाँडा र रूख कटानका लागि प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेको थियो । त्यही प्रतिवेदनअनुसार डाँडा काट्न ६ सय रूख काट्ने प्रक्रिया अघि बढाइएको थियो । ‘सहमति जुटेकाले अब टेन्डर प्रक्रिया सुरु हुन्छ । वर्षायाम भएको र टेन्डर प्रक्रियाका कारण डाँडा र रूख कटानका लागि अझै केही समय लाग्नेछ,’ उनले भने, ‘जतिसक्दो छिटो हुनेगरी कटान सुरु गर्ने प्रयास भइरहेको छ ।’

डाँडाको १४ देखि ४० मिटर उचाइसम्म कटान गर्नुपर्ने उनले बताए। ४० रोपनी क्षेत्रफलको डाँडा र रूख कटान हुनेछ । विमानस्थलको पूर्वी सीमानाबाट यो डाँडा १.३५ किलोमिटर टाढा पर्छ । प्राधिकरणले आगामी जनवरी १ देखि पोखराको यो विमानस्थल सञ्चालनमा ल्याउने लक्ष्य राखे पनि डाँडा कटानबाहेक अर्को मुख्य अवरोध मानिएको ल्यान्डफिल साइट स्थानान्तरण पनि आवश्यक रहेको निरौलाले बताए । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७