सांसद श्रेष्ठको आरोप : सरकार कमिसनको चक्करमा लाग्दा मल आउन सकेन


२० असार २०७९, सोमबार

काठमाडौँ । राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले सरकार कमिसनको चक्करमा लाग्दा रासायनिक मल आउन नसकेको आरोप लगाएका छन् ।

आज (सोमबार) राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण विदेशबाट रासायनिक मल ल्याउन नसकेको बताए । मल र बीउ समयमै ल्याउँदा उत्पादन वृद्धि हुने र नेपाल आत्मनिर्भर हुने उल्लेख गर्दै उनले विदेशको कृषिजन्य उपज प्रतिस्थापन हुने भएकाले सरकारले त्यसो गर्न नचाहेको बताए ।

मन्त्रीहरू मल लिनका लागि भनेर विदेश गए पनि त्यहाँ गएर भूमाफियाहरूको कमिसनमा डुबेर आउने गरेको र मल छिट्टै आउँछ भनेर जनतालाई ढाँट्ने गरिएको उनको भनाइ छ । उनले भने, ‘कमिसनको चक्करमा यो सरकार फसेको छ । नेपालमा धान उत्पादनको निम्ति मल, बीउ समयमै ल्याइँदा नेपालमा उत्पादन वृद्धि हुन्छ, नेपाली जनता आफैमा आत्मनिर्भर हुन्छन् र कृषिजन्य उपजहरू नेपालमा आयात हुने क्रम घट्दै जान्छ । तर सरकार कमिसनको चक्करमा यसो गर्न चाहँदैन । मन्त्रीज्यूहरू मल ल्याउने भन्दै विदेश जान्छन् तर कमिसनको चक्करमा डुबेर आउँछन् अनि सदनमा उभिएर मल चाँडै आउँछ भनेर जनतालाई ढाट्छन् ।’

राष्ट्रिय सभा सदस्य श्रेष्ठले वर्तमान सरकार देश र नागरिकप्रति बफादार नभएको भन्दै यो सरकार रहुञ्जेल देशलाई बरबादीमा पुर्‍याउने तर्क गरे । यो सरकारको छिटोभन्दा छिटो बहिर्गमनको आवश्यकता रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७