विनोद शाही मृत्यु प्रकरण : प्रदर्शनकारीसँगको झडपमा १४ प्रहरी घाइते


२० असार २०७९, सोमबार
achham1656918386

अछाम । अछामको पञ्चदेवल विनायक-४ का १५ वर्षीय विनोद शाहीको मुत्यु प्रकरणलाई लिएर पीडित पक्ष र प्रहरीबीच झडप भएको छ । छडपमा परी जिल्ला प्रहरी कार्यालयका १४ जना प्रहरी घाइते भएका छन् । विनोदको न्यायका लागि सदरमुकाम मङ्गलसेनमा सोमबार प्रर्दशन भएको हो ।

प्रदर्शनकारीहरूले सरकारी वकिल कार्यालय र जिल्ला अदालत अछाममा ढुङ्गामुढा गर्दा १४ प्रहरी घाइते भएको जिप्रका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन खोज्दा घाइते भएका प्रहरीमध्ये ६ जनाको हात, खुट्टा, घुँडा र टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा प्रहरी धर्मबहादुर रोकाया, इन्द्रबहादुर थापा, बीजित चदारा, निर्मला ऐर, झलनाथ शर्मा र प्रेमबहादुर धामीको हात खुट्टा, टाउको र घुँडाको हड्डी भाँचिएको प्रहरी निरीक्षक विष्टको भनाइ छ ।

सोमबार सरकारी वकिल कार्यालयबाट जिल्ला अदालतमा फाइल पेस गर्न जाने बेला प्रर्दशनकारीले वकिल कार्यालय र जिल्ला अदालतमा ढुङ्गा प्रहार गर्दा स्थिति नियन्त्रणमा लिन खोज्दा प्रहरी घाइते भएका हुन् । सरकारी वकिल कार्यालय जिल्ला अदालतमा भएको ढुङ्गा प्रहार गर्ने प्रर्दनकारीलाई नियन्त्रणमा लिन प्रहरील २४ सेल अश्रुग्यास समेत प्रहार गरेको प्रहरी निरीक्षक विष्टले बताए ।

गत वैशाख १७ गते बेपत्ता भएका विनोद २० गते मृत अवस्थामा भेटिएका थिए । शाहीको मृत्यु घटनामा अनुसन्धानका लागि प्रहरीलाई सहयोग गर्ने भन्दै आरोपित पञ्चदेवल नगरपालिकाकी प्रमुख अम्बिका चलाउने शनिबार प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् । अहिले प्रमुख चलाउनेलगायतको बयानका क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

उक्त मुद्दामा प्रहरीले यसअघि नै पाँच जनालाई पक्राउ गरिसकेको थियो । आइतबार चलाउनेसहित सात जनालाई अदालतबाट दुई दिनको म्याद थप गरी हिरासतमा राखेको छ । जिल्ला प्रहरीमा किटानी मुद्दा दायर भएका सात जनाको पनि खोजी कार्य जारी रहेको जिप्रकाका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए । गत जेठ २६ गते शाहीका परिवार र आफन्तले नव निर्वाचित प्रमुख चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७