मन्त्री हेरफेर नगर्न बाबुरामले गरेको आग्रह देउवाले गरे बेवास्ता

बाबुराम भट्टराईले बोलाए छुट्टै बैठक


२० असार २०७९, सोमबार
deuwa baburaa

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मन्त्री हेरफेर नगर्न गरेको आग्रह प्रधानमन्त्री शेरबहादुर देउवाले बेवास्ता गर्दै नयाँ मन्त्री नियुक्त गरेका छन् ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम पठाएपछि भट्टराईले त्यसलाई रोक्न खोजेका थिए, तर प्रधानमन्त्री देउवाले भट्टराईको आग्रह अस्वीकार गरेको जसपा नेता गंगानारायण श्रेष्ठले जानकारी दिएका छन् । यादवले आइतबार राति कृषिमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव र वन मन्त्री राम सहायप्रसाद यादवलाई फिर्ता बोलाएर कृषिमा मृगेन्द्रप्रसाद सिंह, भौतिक पूर्वाधारमा मोहम्मद इस्तियाक राई र वन मन्त्रालयमा प्रदीप यादवको नाम पठाएका थिए ।

तर भट्टराईले त्यसमा आफ्नो सहमति नभएकाले मन्त्री नियुक्त नगर्न र शपथ नगराउन आग्रह गरेका श्रेष्ठले बताए । तर प्रधानमन्त्रीले नमानेपछि जसपाबाट सरकारमा गएका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुका साथै पदभार ग्रहण समेत गरिसकेका छन् ।

बाबुराम भट्टराईले बोलाए छुट्टै बैठक
जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् । असार २९ र ३० गते काठमाडौंमा बस्नेगरी बैठक बोलाएको जसपाका कार्यकारिणी समिति सदस्य गंगा श्रेष्ठले जानकारी दिएका छन् ।

जसपाका उपेन्द्र यादव पक्षले असार २७ र २८ गतेका लागि वीरगञ्जमा बस्ने गरी बैठक बोलाएको थियो । बैठकमा बाबुराम पक्ष सहभागी नहुने बताइएको छ । नेता श्रेष्ठले भने, ‘जसपाका अध्यक्ष उपेन्द्र यादवले बोलाउनु भएको बैठकको बारेमा सबैलाई जानकारी गराएको छैन, र एकलौटी रुपमा बैठक बोलाएको कारण त्यसमा हाम्रो उपस्थिति हुने छैन । असार २९ र ३० गते हामीले सबैलाई आह्वान गरेर विस्तारित बैठक बोलाउन लागेको छौं ।’

जसपा विभाजन हुने कि के हुने त्यसको निर्णय विस्तारित बैठकले गर्ने उनले बताए । पार्टीबाट अलग हुने वा त्यही बस्ने एक जनाले मात्र निणर्य गरेर नहुने भन्दै उनले केन्द्रीय समिति तथा पार्टीका अन्य निकायको राय अनुसार निर्णयमा गरिने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७