हात्तीसार हौदा संग्रालयमा पर्यटक बढे


२१ असार २०७९, मंगलवार
hatisar

मकवानपुर । मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीमा रहेको हात्तीसार सङ्ग्रहालयको संरक्षण र व्यवस्थापनपछि आन्तरिक पर्यटकको आगमन बढ्न थालेको छ ।

बागमती प्रदेश सरकारसँगको सहकार्यमा गाउँपालिकाले सङ्ग्रहालयको वरिपरी विभिन्न प्रकारका बोटबिरुवा तथा फूलहरु रोपेर आकर्षक उद्यान, पदमार्गलगायत संरचना निर्माण गर्नुका साथै सङ्ग्रहालयभित्र भएका, छाला, तामा, काठ, फलाम लगायतका हौदाको सरसफाइ गरेर बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सङ्ग्रहालय खुल्ला गरेर प्रदर्शनी गर्न थालेपछि अवलोकनमा आउने पर्यटकको संख्या बढ्न थालेको भीमफेदी गाउँपालिकाले जनाएको छ ।

सन् १९५२ मा बेलायती महारानी एलिजावेथ नेपाल आउँदा शिकार खेल्न प्रयोग भएका विभिन्न सामग्री तथा नेपालका राजा एवं राणा प्रधानमन्त्री जङ्गबहादुर लगायतले शिकार खेल्न प्रयोग गरेका हात्तीमा चढ्दा प्रयोग गरिने हौदा, बाघ समात्न प्रयोग हुने जाली तथा डोरीलगायत अन्य थुप्रै सामग्री सङ्ग्रहालयमा राखिएको गाउँपालिकाका अधिकृत बद्री सापकोटाले जानकारी दिए ।

यस सङ्ग्रहालयमा महारानी एलिजावेथले प्रयोग गरेको चार वटा सिकारी हौदा र जङ्गबहादुर राणाले प्रयोग गरेका पिँजडा हौदा छन् । ती बाहेक सङ्ग्रहालयमा अन्य ३७ वटा हौदा, विशिष्ट व्यक्ति हात्तीमाथि बस्ने २२ वटा छालाको काठी, हात्ती चढ्न हौदामुनी राखिने १५ वटा खरगदा रहेको सङ्ग्रहालयका हेरालु भरत सिं लामाले जानकारी दिए ।

विसं २०४६ सम्म पनि राजपरिवारले शिकार खेल्नका लागि यहाँबाट ती सामग्री लैजाने गरेका थिए । बहुदल आएपछि भने यहाँबाट हौदाका सामग्री राजपरिवारले प्रयोग गर्न छाडेको यहाँका अग्रज बताउँछन् । प्रजातन्त्र आउनुअघिसम्म पनि राजा तथा राजपरिवारका सदस्यले चितवन, कोशी, शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जमा यहाँबाट हौदा लिएर शिकार खेल्न जाने गरेको भीमफेदी ६ का पूर्व वडाध्यक्ष सीताराम थापाले जानकारी दिए ।

साथै उनले सङ्ग्रहालयको संरक्षण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आफू वडाध्यक्ष हुने वित्तिकैदेखि नै लागि परेको बताए । ३२ रोपनी जग्गामा फैलिएको यो सङ्ग्रहालय चितवन राष्ट्रिय निकुञ्ज मातहतमा रहेको छ । राजपरिवारले हौदाका सामग्री प्रयोग गर्न छाडेपछि निकुञ्जले हौदा सङ्ग्रहालय बेवारिसे अवस्थामा छाडेको हो । पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न अघिल्लो आर्थिक वर्षदेखि गुरुयोजना बनाएर काम थालेको र हाल परिणाम देखिन थालेको गाउँपालिका अध्यक्ष हिदम लामा बताँछन् ।

यो ऐतिहासिक सङ्ग्रहालयको संरक्षण र प्रबद्र्धन गरेर पालिकाको पर्यटन प्रवद्र्धन गर्ने उनको भनाइ छ । लामो समय तराईलाई काठमाडौँसँग जोड्ने मुख्य नाकाको रुपमा रहेको भीमफेदीमा मकवानपुरको सदरमुकाम हुँदासम्म छुट्टै चहलपहल थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७