सुदूरपश्चिममा बजेट संशोधन नभए पास हुन नदिने कांग्रेसको निर्णय


२५ असार २०७९, शनिबार
sudur Pradesh sabha

कैलाली । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट संशोधन नगरेसम्म बजेट पास हुन नदिने निर्णय गरेको छ । आज नेपाली कांग्रेस संसदीय दलका उपनेता देवराज पाठकको अध्यक्षतामा बसेको सुदूपश्चिम प्रदेश संसदीय दलको बैठकले बजेट संशोधन गर्नुपर्ने र नगरे पारित हुन नदिने निर्णय गरेको हो ।

बैठकले बजेट संशोधन गर्नुपर्ने निणर्य गरेको प्रमुख सचेतक भरतबहादुर खड्काले जानकारी दिए । उनले प्रदेश सरकारले ल्याएको बजेट जनताको हितमा नभएकाले परिमार्जन गर्नुपर्ने संसदीय दलले निर्णय गरेको जानकारी दिए ।

कांग्रेसले बैठकले बजेट संशोधन गर्नुपर्ने मागसहितको निणर्यका आधारमा प्रदेश सरकारको ध्यानाकर्षण गराइने जनाएको छ । संसदीय दलको बैठकमा सामाजिक विकासमन्त्री समेत रहेका कांग्रेस सचेतक गोविन्द बोहरा, राज्यमन्त्री टेकबहादुर रैका, प्रदेशसभा सदस्य डिल्लीराज पन्त, श्यामलाल राना थारूसहितका सात जना सहभागी थिए ।

प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले गत असार १ मा प्रदेशसभा बैठकमा प्रस्तुत गरेको रु ३६ अर्ब ७६ करोडको बजेटमाथि सत्तारुढ दलकै सांसदहरुको असन्तुष्टिका कारण अहिलेसम्म बजेटमाथि छलफल हुनसकेको छैन । माओवादी केन्द्रले आफ्ना सांसद्लाई बजेटको विरोध नगर्न र पक्षमा उभिन निर्देशन दिए पनि विरोध कायमै छ भने बजेटबारे एकीकृत समाजवादी पार्टीले कुनै निर्णय गरेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बिचौलियाको प्रयोग गरेर ल्याइएको बजेट खारेज गर्नुपर्ने माग गरेको छ । असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि २५ असारसम्म प्रदेशसभामा बजेटमाथि छलफल हुन नसक्दा अनिश्चित बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७