पाँच वर्षे सरकार : ५० वर्ष दुई तिहाइको आधार


१८ चैत्र २०७४, आईतवार
Yogesh Bhattarai 5
  • योगेश भट्टराई

अहिले राज्यका सबै ठाउँमा खासगरि जनप्रतिनिधिमार्फत हुने सरकार सञ्चालनका सबै ठाउँमा वाम प्रगतिशील गठबन्धनले वर्चस्व कायम गरेको छ । हामी के गर्छौं, कसरी गर्छौं आदि भन्नुपर्ने जति हामीले सबै भनिसकेका छौं । अब हामीले गर्नुपर्ने दिन आएको छ । अब नेपालमा हामीले पाँच वर्ष सरकार चलाउँदा अर्को ५० वर्ष सजिलै दुई तिहाइ बहुमतका साथ सरकार चलाउने आधार तयार गर्छौं । हामी बिग्रिन्छौं कि, भ्रष्टाचार गर्छौं कि भन्ने धेरैको चिन्ता छ ।

आजका हाम्रा नेता सामान्य अनि त्यति कमजोर हुनुहुन्न । धेरै लामो संघर्षबाट आएका, वर्षौं जेलनेल, कष्ट सहेर आएका नेताहरू हुनुहुन्छ । सुखसयलबाट आउनुभएका कोही हुनुहुन्न । चामलमा कतैकतै बियाँ त हुन्छन्, केही मान्छे खराब त हुन्छन्, बिग्रन सक्छन् तर हाम्रो पार्टीको आमनेतृत्व पंक्ति अब्बल छ । यसले गलत काम गर्दैन । नेकपा (एमाले) का लागि यो सरकार, यो राजकीय सत्ता कुनै नेताको आलिसान महल बनाउन ल्याएको होइन । सरकार भनेको एउटा साधन हो । नेपाली जनताको जीवस्तर परिवर्तन गर्नका निम्ति यो साधन हामीले प्रयोग गरिरहेका छौं ।

Yogesh Bhattarai 5

हाम्रो प्रधानमन्त्रीले भन्नुभएको छ, ‘म भ्रष्टाचार गर्दिनँ र कसैलाई गर्न पनि दिन्नँ ।’ हामी सुन्छौं, अन्य देशहरूमा भ्रष्टाचार गरेकै कारण कतिपय नेताहरूलाई मृत्युदण्ड दिइएको छ । मैले हालै मात्र पढेको थिएँ, चिनियाँ कम्युनिस्ट पार्टीले यो पाँच–सात वर्षको अवधीमा करिब ३ लाख नेता–कार्यकर्तालाई भ्रष्टाचारको आरोपमा पार्टीबाट निष्कासन गरेको छ । अब हाम्रो देशमा पनि एमाले र माओवादी मिलेपछि बन्ने कम्युनिस्ट पार्टीमा भ्रष्टाचार आरोप लागेको कुनै पनि एउटा सदस्य त्यो पार्टीमा रहन सक्दैन । जब हामी ठीक हुन्छौं, कुनै कर्मचारी, प्रहरी अधिकृत, ठेकेदार कसैले गलत गर्न सक्दैनन् ।

हामी आउने १० वर्षमा नेपालमा १० हजार मेगावाट बिजुली निकाल्छौं । त्यति क्षमताको बिजुली निकाल्दा ५० लाख मानिसले रोजगारी पाउँछन् । अहिले प्राथमिकताका आधारमा निजगढ, पोखरा, लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदै छौं । त्यहाँ कतिले रोजगारी पाउलान् ? हामी पूर्व–पश्चिम रेल बिछ्याउँछौं । झन्डै १२ सय किलोमिटर रेल बिछ्याउँदा कतिले काम पाउँछन् ? आज नेपालका सबै बाटाहरू एक लेनका छन्, ती चल्दैनन् । हामी मुख्य राजमार्गहरू कमसेकम चार लेनको बनाउँछौं । निजगढ–काठमाडौं फास्टट्र्याक पनि चार लेनको बनाउँछौं । यो १० वर्षमा सयौं मोटर पुल बन्नेछन् ।

सयौं किलोमिटर मोटर बाटो बन्छन्, पुर्वाधार निर्माण गर्छौं । त्यहाँ कति प्राविधिक जनशक्ति चाहिएला ? त्यसपछि बाध्यताले बिदेसिने अवस्थाको अन्त्य हुनेछ । हाम्रो सरकारले गर्ने यही हो । कांग्रेसले पटकपटक अवसर पायो, तर काम गरेन । आज हामीले इतिहासमै सबैभन्दा सुवर्ण अवसर पाएका छौं । यो अवसरलाई हामी कुनै पनि अवस्थामा चुक्न दिँदैनौं । किनभने, अहिले कोही अमूक नेताको भाग्य र भविष्य बन्दै छैन, तीन करोड नेपालीको भाग्य र भविष्य छ । हामी लाखौं राजनीतिक कार्यकर्ताको सपना यहाँ जोडिएको छ । दुई वर्षपछि हामीले कति किलोमिटर बाटो बनायौं, कति पुल बनायौं, कति बिजुली निकाल्यौं, कति विद्यालय बनायौं, कति अस्पताल बनायौं, दुई वर्षमा हाम्रो आर्थिक अवस्था कहाँबाट कहाँ पुरायायौं, औसत आयु कहाँ पुग्यो, प्रतिव्यक्ति आय कति पुग्यो, यी सबै तथ्यांक प्रस्तुत गर्नेछौं । हामी जनतालाई झुक्याएर कुरा गर्दैनौं, तथ्यांकसहित बोल्नेछौं ।

अब लगानीको वातावरण बन्नेछ । म भारतीय लगानीकर्ताहरूलाई भन्न चाहन्छु, अकुपाई गर्ने गरी मात्र आउनुहुन्छ भने त्यो हाम्रा लागि मान्य हुनेछैन तर लगानी गर्ने गरी आउनुहुन्छ भने हामी रातो कार्पेट बिछ्याएर स्वागत गर्नेछौं । तर हडप्न मात्रै, अरू तेस्रो देशलाई छेक्न मात्र आउनुहुन्छ भने मान्य हुनेछैन । अरू देशको सन्दर्भमा पनि त्यही हो । चिनियाँहरूका लागि पनि त्यही हो । यो कम्पनी, आयोजना भारतले लैजाला कि भनेर हडप्न मात्र कोही चिनियाँ आउँछ भने हामीलाई मान्य छैन । बनाउन आउँछ, लगानी गर्न आउँछ भने स्वागत छ । त्यो नेपाल र नेपाली जनताको हितमा हुनुपर्छ । पैसा लगानी गरेपछि नाफा खोज्छ, नाफा बाँडेर लानुपर्छ । शतप्रतिशत नाफा नेपालमै छाड्नुपर्छ हामी भन्दैनौं । ४५६ मेगावाटको माथिल्लो तामाकोसीलाई कसैले लगानी गर्न माननेन्, हडप्न मात्र खोजे । नेपालीकै पैसाले अर्को वर्ष यो आयोजनाको काम सकिँदै छ । त्यहाँ विदेशीको एक पैसा पनि छैन । बरु नेपालीको पैसामा चिनियाँ कामदारले त्यहाँ काम गरे । यसरी देशभित्रै पनि लगानीको वातावरण बन्दै छ । यसरी हामी हाम्रो देश बनाउँदै छौं ।

हामी यतिबेला पार्टी एकताको चरणमा पनि छौं । यो पार्टी एकता नेपाली जनताको आवश्यकता हो । कोही एमाले बनेर वा कोही माओवादी बनेर यो एकतामा आइरहेका छैनौं । दुवै एमाले र माओवादी हुँ भन्ने धङघङी छाडेर यो एकतामा आइरहेका छन् । यदि त्यो धङधङी बोकेको भए हामी एक ठाउँमा आएर चुनाव नै लड्ने थिएनौं । नेता, कार्यकर्ता, विचार सबै कुराको व्यवस्थापन सही ढंगले भएर यो एकता हुन्छ ।

दुइटा खोला मिसिएपछि केही तलसम्म दुवै खोलाले आ–आफ्नो साइड च्याप्छन् । तर, निकै तल पुगेपछि खोलाको पानी एउटै हुन्छ । यो एकतामा पनि केही समय आ–आफ्नो साइड च्यापिन्छ, त्यो कुनै ठूलो कुरा होइन । अब अहिले पार्टी एकता गर्दा हामीले पदहरू मिलान गर्छौं । उहाँ एमालेबाट आउनुभएको, उहाँ माओवादीबाट आउनुभएको भन्छौं । तर, सधैं त्यो भनिरहनुपर्दैन । हामी यो पार्टीलाई भावनात्मक ढंगले एक बनाउँछौं । आज अलग चिह्नबाट लड्यौं, अर्को पाँच वर्षपछिको चुनाव चिह्न एउटै हुन्छ । अलगअलग पार्टीबाट चुनाव लड्दा त देशभरि अभूतपूर्व उत्साह आयो, यो पाँच वर्ष मुलुक बनाएर एउटै पार्टीबाट चुनाव लड्दा धेरै ठाउँमा नेपाली कांग्रेसले मनोनयन नै दिँदैन । किन चुनाव लड्ने हामीसँग ? छाडिदिन्छ । यही हिसाबले हामी पार्टी निर्माण गर्छौं ।

(भारत प्रवास कमिटीको भेलालाई गरिएको सम्बोधनको अंश)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७