आमा र छोराका दुई कृति एकैसाथ सार्वजनिक


२६ असार २०७९, आईतवार
Sitaula1657377077

काठमाडौँ । बयानब्बे वर्षीया आमा मनमाया सिटौला र ५० वर्षीय कान्छा छोरा कवीन्द्र सिटौला ‘जिज्ञासु’ द्वारा लिखित दुई पुस्तक एकैसाथ विमोचन गरिएको छ । आमा मनमायाको आत्मकथा ‘मैले बिताएको युग’ र छोरा कवीन्द्रको कविता सङ्ग्रह ‘हृदयका स्पन्दनहरू’ एकैसाथ शनिबार सार्वजनिक गरिएको हो ।

काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा गङ्गाप्रसाद उप्रेतीलगायतले ती दुवै कृति विमोचन गरे । पुस्तक विमोचन समारोहमा डा. उप्रेतीले मनमायाको कृतिले एक सय वर्षअघिको नेपालको सामाजिक, सांस्कृतिक र आर्थिक परिवेश अभिव्यक्त गरेको बताउँदै यो पुस्तक एउटा कालखण्डको एक महत्वपूर्ण अभिलेख भएको उल्लेख गरे । त्यसैगरी छोरा स्रष्टा कवीन्द्रको कवित्व आकर्षक रहेको चर्चा गर्दै कवितायात्रालाई निरन्तरता दिन आग्रह गरे ।

साहित्यकार डा. साधना प्रतीक्षाले ‘मैले बिताएको युग’ को समीक्षात्मक टिप्पणी गर्दै मनमायाको जीवन आफैमा एउटा कृति भएको उल्लेख गरिन् । उनले भनिन्, ‘सिटौलाको यो कृति पढ्नु भनेको हरेकले आफ्नी आमालाई पढ्नु हो ।’

प्राज्ञ कवि डा. देवी नेपालले कवीन्द्रको कृतिमाथि चर्चा गर्दै उहाँको कवितामा जीवन र जगतका विविध भोगाइ अभिव्यक्त भएको धारणा राखे । ‘मैले बिताएको युग’ का सम्पादक तथा मनमायाकी छोरी साहित्यकार राधिका दाहालले आफूले आमाको जीवनका भोगाइहरु डायरीमा लेख्ने गरेको र आज त्यही डायरीले पुस्तकको रूप लिएको जानकारी दिए । सो आत्मकथाको राधिकाले सम्पादन गरेकी हुन् ।

हरिचरण सिटौला प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार मोहनलाल सिटौला, स्रष्टाहरू विजया पन्त, कवीन्द्र सिटौला, डा. वसन्त पन्तलगायतले उक्त कृतिहरूमाथि आफ्ना धारणा राखेका थिए । वरिष्ठ साहित्यकार मोहनलाल मनमायाका जेठा छोरा हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७