अस्तित्व मासिने अवस्थामा घाँसीकुवा


२९ असार २०७९, बुधबार
Bhanu Ghasi park Tanahu 1

तनहुँ । भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणादायीस्थल घाँसीकुवाको अस्तित्व मासिने खतरामा पुगेको छ । पृथ्वी राजमार्गको मुग्लिन-पोखरा सडकखण्ड विस्तार भइरहेकाले व्यास-१२ मा रहेको घाँसीकुवा र घाँसीपार्क मासिने अवस्थामा पुगेको हो ।

प्राचीनकालदेखि संरक्षण गरिँदै आएको उक्त ऐतिहासिक सम्पदा सडक विस्तारसँगै हटाउनुपर्ने अवस्था आएकाले संरक्षणका लागि समयमै ध्यान दिनुपर्नेमा स्थानीयवासीको माग छ । भानुभक्त मामाघर मानहुँ (हालको व्यास-५) मा पुगेर पैदलबाटो फर्किने क्रममा घाँसीकुवामा घाँसीसँग भेट भएको थियो । घाँसीले घाँस काटेर आएको आम्दानीबाट कुवा खनाउने महान् विचारबाट भानु प्रेरित भई यस्तो कविता रचना गरेका थिए

भर्जन्म घाँसतिर मन दिई धन कमायो,
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो,
म भानुभक्त धनी भैकन किन आज यस्तो ।

हाल कुवा रहेको पारीपट्टि पोल्याङ गाउँमा बस्ने पन्थ थरका ब्राह्मणको बस्ती छ । कुवाको नजिक पन्थ बस्ती रहेकाले पन्थ नै घाँसी भएको अनुमान गर्न सकिने भानु घाँसी स्मारक पार्क संरक्षण समितिका सदस्य प्रेमप्रकाश भट्टराईले बताए ।
पृथ्वीराजमार्ग फराकिलो बनाउने क्रममा कुवापट्टि विस्तार गर्ने ठाउँको सट्टा कुवाको विपरीत स्थानमा रहेको बुल्दी खोला किनारको भागलाई उठाएर समथर बनाएर संरक्षण गर्न सकिने विकल्पबारे स्थानीयवासीले सुझाव दिँदै आएका छन् ।

पृथ्वी राजमार्ग विस्तार गर्ने क्रममा ऐतिहासिक कुवाको अस्तित्व मेटिने हुँदा संरक्षण गर्न आवश्यक पहल गर्नुपर्ने व्यास नगरपालिका-११ पोल्याङ घाँसीकुवा निवासी भोजराज पन्थले बताए । ‘जिजुबाजेदेखि जोगाउँदै आएको सम्पदा हो’, उनले भने, ‘भत्काएर इतिहास मेट्न हुँदैन, संरक्षणमा लाग्नुपर्छ ।’

घाँसीको परिचय भानुभक्तले कतै उल्लेख नगरी दिँदा पहिचानमा कठिनाइ भएको भानु-घाँसी स्मारक पार्क व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज भट्टराई बताउँछन् । हाल घाँसीकुवा रहेको भन्दा २०० मिटर पर उत्तरतिर करिब १०० रोपनी सार्वजनिक जग्गामा स्थानीय बासिन्दाले भानुघाँसी उद्यान बनाउन दिने निणर्य समेत भएको समितिका सदस्य प्रेम पन्थले जानकारी दिए।

घाँसीको सम्झना र सम्मानमा तनहुँको एउटा गाविसको नाम नै ‘घाँसीकुवा’ राखिएको थियो । अहिले यो गाविस व्यास नगरपालिकामा समायोजन भई व्यास-१२ कायम भएको छ । सदरमुकाम दमौलीबाट पूर्वतर्फ करिब पाँच किलोमिटरको दूरीमा घाँसीकुवा पर्दछ । कुवा नरहे भानुभक्तको पहिचानमा असर पर्ने र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नसकिने घाँसीकुवामा चमेना गृह सञ्चालन गर्दै आएकी लीलावती पन्थले बताइन् ।

उक्त कुवा र उद्यान संरक्षणका लागि तीनवटै तहका सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ । चिनियाँ कम्पनीले पृथ्वी राजमार्गअन्तर्गतको पोखरा-मुग्लिन सडकलाई तीन चरणमा विस्तार गर्ने क्रममा भित्ता खार्ने र खाल्टो पुर्ने कार्य गरिरहेको छ । चाइना एण्ड कम्युनिकेशनले उक्त सडक तीन चरणमा पूरा हुने गरी योजना बनाएको छ ।

आँबुखैरेनीदेखि जामुनेसम्म, जामुनेदेखि पोखरा र आँबुखैरेनीबाट मुग्लिनसम्म गरी तीन चरणमा सडक फराकिलो गरिरहेको छ । मुग्लिनदेखि पोखरासम्मका सडक फराकिलो पार्न चिनियाँ कम्पनीले ठेक्का पाएर निर्माण कार्य थालेको छ । सो कम्पनीले सडक फराकिलो गर्न रु ६ अर्ब १४ करोडमा ठेक्का सम्झौता गरेको हो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७