लोकसेवाको उत्तर पुस्तिका परीक्षणमा समावेशी समूहलाई पूर्वाग्रह हुनसक्ने भन्दै सुधारको माग 


३० असार २०७९, बिहीबार
madhav prasad regmi scaled

काठमाडौँ, ३० असार । लोकसेवा आयोगले लिने परीक्षाको उत्तर पुस्तिका परीक्षणमा पूर्वाग्रह  हुनसक्ने भन्दै लोकसेवाका परीक्षार्थीहरुले सुधार गर्न माग गरेको छ ।

लोकसेवा आयोगको अध्यक्ष माधव प्रसाद रेग्मीलाई लोक सेवा परीक्षार्थी नामको समूहले हस्ताक्षरसहित लेखिएको निवेदन पत्रमा उत्तर पुस्तिका निर्माणको संरचना परिवर्तन गर्न माग गर्दे परीक्षणलाई विश्वसनीय बनाउन माग गरेको हो । 

परीक्षार्थीहरूले उत्तर पुस्तिका परीक्षणमा समावेशी समूहमा अन्तर्गत पनि परीक्षा दिएका विधार्थीहरुलाई विज्ञहरूबाट नम्बर प्रदान गर्दा पूर्वाग्रह हुनसक्ने बताएका छन् । 

निवेदन पत्रमा लेखिएको छ, ‘नेपालको संविधानले परिकल्पना गरेको समानुपातिक समावेशीकरण र सामाजिक न्याय जस्ता सिद्धान्तलाई मूर्तरूप दिन लोकसेवा आयोगले खेलेको भूमिकाप्रति असीम सम्मान व्यक्त गर्दे निजामती सेवा ऐन, २०४९ को दफा ७ को उपदफा (७) ले गरेको व्यवस्था बमोजिम हुने र लोकसेवाको उत्तरपुस्तिकाको संरचनामा ध्यानाकर्षण भएको छ ।’ 

उत्तर पुस्तिका संरचनामा अनुसार विज्ञले उत्तर पुस्तिका परीक्षण गर्दा कुन समावेशी समूहको पर्ने उम्मेदवार हो भन्ने प्रस्ट हुने भएकोले विज्ञ समावेशीकरणको विरोधी वा समर्थक भए परीक्षणमा प्रभाव पर्ने सक्नेछ ।

निवेदनमा लेखिएको छ, ‘उम्मेदवारको समावेशी समूह समेत गोप्य राख्ने गरी उत्तर पुस्तिकाको डिजाइन गरी प्रयोग गर्नुपर्ने हाम्रो ठम्याई छ । यसले विज्ञलाई पूर्वाग्रह हुन सक्ने सम्भावनाबाट अलग राख्ने, विज्ञ समावेशीकरणको विरोधी वा समर्थक जे भए पनि फरक नपर्ने र कर्मचारी भर्ना एवं छनौट प्रणाली निष्पक्ष हुनेछ ।’

निजामती सेवामा नै प्रवेश गरिसकेको एक परिक्षार्थीका अनुसार यसरी परीक्षणमा एक नम्बर नै तलमाथि भए योग्यता क्रममा असर पर्ने उनले बताए ।

निजामती कर्मचारी ऐन अनुसार महिला, आदिवासी/जनजाति, मधेसी, दलित, अपाङग र पीछडिएको क्षेत्र गरी ६ वटा समावेशी समूह रहेको छ । परिक्षार्थीले उत्तरपूस्तिकामा आफु कुन समुहको उम्मेद्वार हो विज्ञापन लेख्नुपर्ने हुन्छ । त्यही लेखिएको उत्तरपुस्तिका विज्ञबाट परिक्षण हुने गर्दछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७