उदीपुर-मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइन निर्माण सुस्त


३१ असार २०७९, शुक्रबार
electricty 1
फाइल फोटो

म्याग्दी । यहाँ मर्स्याङ्दी कोरिडोरअन्तर्गतको निर्माणाधीन २२० केभी उदीपुर-मार्कीचोक-भरतपुर डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सुस्त गतिमा अघि बढेको छ ।

निर्माण सम्पन्न गर्नुपर्ने गत जुन महिनासम्म भए पनि यस आयोजनाको निर्माण अझै ४० प्रतिशत बाँकी छ । आयोजनाका उदीपुर-भरतपुरका डिभिजन प्रमुख नारायण रेग्मीले भने, ‘विविध कारणले गर्दा निर्धारित समयमा काम सम्पन्न भएन, काम समेत ढिलासुस्ती भइरहेको छ ।’ हालसम्म ६० प्रतिशतको हाराहारीमा मात्र निर्माण सम्पन्न भएको उनको भनाइ थियो । ७६ किलोमिटर दूरी रहेको लमजुङको उदीपुरदेखि चितवनको भरतपुरसम्म प्रसारण लाइन पुर्‍याउन १९३ वटा टावर आवश्यक पर्ने आयोजनाले जनाएको छ ।

यीमध्ये हालसम्म १८ वटा टावर निर्माण भइसकेको छ भने, ५५ वटा टावरको जग तयार गर्ने काम भइरहेको आयोजना प्रमुख रेग्मीले बताए । उक्त टावरमध्ये लमजुङतर्फ ४५ र तनहुँतर्फ १० वटा टावर उठाउने काम भइरहेको छ । अठार वटा खडा भएको टावरमध्ये १७ वटा उदीपुरदेखि मध्मस्र्याङ्दी र एकवटा लमजुङकै फूलबारीमा निर्माण भइसकेको छ ।

‘दोर्दी कोरिडोरका आयोजनाको विद्युत मध्यमस्र्याङ्दी जलविद्युत केन्द्रको स्वीचयार्डसम्म पुर्‍याउन छ किलोमिटरसम्म यही प्रसारण लाइनको काम अघि बढिरहेको छ । उदीपुरदेखि मध्यमस्र्याङ्दी खण्डको छ किलोमिटर खण्डमा १७ वटा टावर उठाउने काम गरेर तार तान्ने कार्य भइरहेको छ ।

उनले भने, ‘यहाँ विभिन्न आयोजना रहेकाले, आयोजनामा उत्पादिन बिजुली जोड्न सहज हुने भएकाले पहिलो प्राथमिकता यस खण्डमा दिएरअघि बढिरहेको र अब एक हप्ताभित्रमा तार तान्ने काम सम्पन्न हुनेछ ।’ छ किलोमिटर खण्डको निर्माण अघिल्लो जेठभित्रै सम्पन्न गर्ने लक्ष्य रहे पनि कोभिड-१९ महामारीको रोकथामका लागि लगाइएका निषेधाज्ञालगायत विविध कारण निर्माण अवधि लम्बिएको बताइएको छ ।

त्यस्तै लमजुङ उदीपुर र भरतपुरमा गरी दुईवटा सवस्टेशन पनि निर्माण भइरहेको उक्त आयोजनाले जनाएको छ । सन् २०१८ जनवरी १७ गतेदेखि अघि बढेको उक्त आयोजना तीन वर्षभित्रमा सबै काम सम्पन्न गर्नुपर्ने भएपनि विविध कारणले सम्पन्न हुन नसकेको डिभिजन प्रमुख रेग्मीको भनाइ थियो । उनका अनुसार सम्झौताअनुसार समयमै सम्पन्न नभइसकेपछि थप गरिएको समयअवधि सकिएकाले अब कति समय थप गर्ने भन्नेबारे छलफल भइरहेको छ । चिन्जा गुप्र चाइना कम्पनीले निर्माण गर्दै आएको उक्त आयोजना सम्पन्न गर्नका लागि करिब रु तीन अर्ब अनुमान गरिएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७