विदेश जाने नेपाली श्रमिकको संख्या ३.६८ गुणाले बढ्यो


३१ असार २०७९, शुक्रबार
bidesh

काठमाडौँ । आर्थिक वर्ष २०७८/०७९ मा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३.६८ गुणाले वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले विभागको आर्थिक वर्ष २०७८/०७९ वार्षिक समीक्षा तथा छलफल कार्यक्रममा बोल्दै यस्तो जानकारी दिएका हुन् ।

उनले चालु आर्थिक वर्षमा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ६ लाख २८ हजार भन्दामाथि पुगेको बताए। उनले चालू आर्थिक वर्षमा अहिलेसम्मकै धेरै श्रम स्वीकृति दिइएको बताए । उनले अहिले पनि अन्तर्राष्ट्रिय मुलुकमा वैदेशिक रोजगारी कोभिड भन्दा अगाडिको लयमा नआइसकेको भए पनि नेपालको वैदेशिक रोजगारको अवस्था पूर्ण रुपमा लयमा फर्किएको बताए ।

महानिर्देशक पौडेलले २०५१ सालदेखि नेपालमा श्रम स्वीकृत जारी गरेर यो वर्षसम्म ७१ लाख २० हजार भन्दा बढी श्रम स्वीकृत भएको बताए । उनले ७१ लाख श्रम स्वीकृतमा ६७ लाख पुरुष र ३ लाख महिलालाई श्रम स्वीकृत दिएको बताए। महानिर्देशक पौडेलले चालु आर्थिक वर्षमा मात्रै गत आर्थिक वर्षको भन्दा ४ लाख ६१ हजार बढी रहेको बताए ।

त्यस्तै महानिर्देशक पौडेलले विभागले सबै प्रकारका श्रम स्वीकृति अनलाइन प्रणालीबाट सञ्चालन गरेकाले एक वर्षमा ४५ प्रतिशत कार्यालयमा भीडभाड कम गरिएको बताए । उनले सबै प्रकारका श्रम स्वीकृतिहरु अनलाइन भएकाले कर्मचारीदेखि सुशासनमा समेत सुधार भए सेवाग्राहीहरुको समय र लागत कम भएको दाबी गरे । महानिर्देशक पौडेलले विभागले सक्कली पीडित भन्दापनि नक्कली पीडित ३० प्रतिशत उजुरी लिएर आउने गरेको बताए । उनले अहिले नक्कली पीडितलाई विभागले निरुत्साहित गर्दै लगिएको बताए ।

महानिर्देशक पौडेलले नेपालको वैदेशिक दश गन्तव्य मुलुकमा सबैभन्दा पहिलो साउदी अरेबिया रहेको बताए । उनले साउदी अरेबियामा एक लाख ८० हजार भन्दा बढी श्रमिक गएको बताए । पौडेलले दोस्रोमा कतार, तेस्रोमा युएई र कुवेत, मलेसिया, बहराइन, रोमानिया, ओमान, जापान र क्रोएशिया रहेको बताए ।

उनले पछिल्लो समय पुनः मलेसियाको जाने श्रमिकको सख्या बढ्न थालेको बताए । पौडेलले कात्तिक महिनादेखि यता दक्षिण कोरियाको एपीएस भाषा परीक्षामा पास भएका ५५ सय श्रमिक कोरिया गएको बताए । उनले अब १० हजार श्रमिक जाने तयारीमा रहेको भन्दै कोरिया सरकारले नेपाललाई एक नम्बरमा राखेर सबैभन्दा बढी कोटा दिएको बताए ।

त्यस्तै महानिर्देशक पौडेलले चालु आर्थिक वर्षमा ८२.९ प्रतिशत भौतिक प्रगति गरेको र बेरुजु फर्स्याैट ७० प्रतिशत भएको जानकारी दिए । उनले विभागलाई भौतिक पूर्वाधारमा समस्या रहेको भन्दै अहिले पनि भाडाको घरमा विभाग रहेको गुनासो गरे । उनले वैदेशिक रोजगार विभागलाई आफ्नै भवन बनाउन आवश्यक देखिएको बताए ।

महानिर्देशक पौडेलले वैदेशिक रोजगार सम्बन्धि कानून कार्यविधिमा ठूलो समस्या रहेको बताए । उनले वैदेशिक रोजगार सम्बन्धि ठूलो समस्या छ भने त्यो वैदेशिक रोजगार ऐन,२०६४ रहेको दाबी गरे । महानिर्देशक पौडेलले ऐनमा व्यवस्था गरेको श्रम स्वीकृति शब्द नै गलत भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७