तालिबान संस्थापक ओमारको गाडिएको कार संग्रहालयमा


३२ असार २०७९, शनिबार
Omar Car1657905004

काबुल । अफगानिस्तानको राष्ट्रिय संग्रहालयले एउटा नयाँ अस्वाभाविक तथा अनौठो चिज सार्वजनिक प्रदर्शनमा राख्ने भएको छ । त्यो हो, सन् २००१ देखि जमिनमुनि गाडिएका ई १००-जेनरेसन टोयोटा कोरोल्ला स्टेसन वागन ।

यो वागन कट्टरपन्थी इस्लामिक समूह तालिबानका संस्थापक मुल्लाह मोहम्मद ओमारको हो । उनले यो सवारी साधन सन् २००१ मा अमेरिकी फौजबाट बच्नका लागि प्रयोग गर्ने गरेका थिए ।

एनबीसीका अनुसार सन् २००१ को ११ सेप्टेम्बरमा अल कायदा समूहको निर्देशनमा हजारौँ व्यक्तिको ज्यान जाने गरी अमेरिकाका विभिन्न स्थानमा आत्मघाती आतंककारी हमला गराएपछि अमेरिकाले अफगानिस्तानमा फौज पठाउन साथ ओमारले ज्यान जोगाएर भाग्दै कान्दहार सहरबाट जावुल प्रान्तमा पुग्न यो कोरोल्ला प्रयोग गरेका थिए ।

कुनै ग्यारेजमा कोरोल्ला राख्दा अमेरिकी फौजले आफू कहाँ छु भन्ने सुइँको पाउने डरले ओमारले अहिलेसम्म पनि गोप्य राखिएको एक स्थानमा प्लास्टिकले छोपेर जमिनमुनि लुकाउन लगाएका थिए ।

तालिबान फौजले अमेरिकी फौज स्वदेश फर्केपछि आफ्नो शक्ति प्रदर्शन गर्ने क्रममा ओमारको मृत्यु भएको करिब दश वर्षपछि सन् २०२२ को जुलाईमा यो कोरोल्ला जमिन मुनिबाट निकाल्ने निर्णय गरेको हो । पाकिस्तानस्थित कराँची ट्रयाक पेजले फेसबुकमा कोरोल्लाका तस्बिरहरू राख्दै आश्चर्यजनक रूपमा यसको अवस्था ठिकठाक रहेको बताएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७