प्रचण्डको आज र भोलि दिल्लीमा उच्चस्तरीय भेटवार्ता


३२ असार २०७९, शनिबार
0 Shares
prachanda visit delhi

काठमाडौँ । भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार दिल्ली पुगेका छन् । भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा दिल्ली पुगेका प्रचण्डले आज (शनिबार) र भोलि (आइतबार) उच्चस्तरीय वार्ता गर्ने कार्यक्रम छ ।

प्रचण्डलाई दिल्ली जानुअघि विमानस्थलमा माओवादीका स्थायी समिति सदस्यहरूले बिदाइ गरेका थिए । दिल्लीमा प्रचण्डलाई भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले, नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, उपनियोग प्रमुख रामप्रसाद सुवेदी र भारतीय विदेश मन्त्रालयको नेपाल-भुटान डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तवले स्वागत गरेका थिए । प्रचण्डसँग उनकी छोरी गंगा दाहाल र स्वकीय सचिव रमेश मल्ल साथमा छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

आज (शनिबार) उनले भारतीय विदेशमन्त्री डा. एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्ने कार्यक्रम छ । आइतबार बिहान भारतीय प्रधानमन्त्री मोदीसँग उनको निवासमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । प्रचण्डले मोदीसँग ब्रेकफास्टसहित वार्ता गर्ने कार्यक्रम छ । त्यसपछि प्रचण्डले भाजपा अध्यक्ष नड्डासँग भेटवार्ता गर्नेछन् ।

प्रचण्ड भाजपा मुख्यालय जाने नेपालका दोश्रो शीर्ष नेता हुनेछन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा गत अप्रिलमा भारत भ्रमणमा जाँदा भाजपाको मुख्यालय पुगेका थिए । देउवा भाजपा मुख्यालय पुग्ने पहिलो शीर्ष नेपाली नेता थिए ।
नड्डाले प्रचण्डको सम्मानमा दिवाभोज आयोजना गरेका छन् । दिवाभोज सम्पन्न गरेपछि प्रचण्ड आइतबार अपराह्न स्वदेश फर्किने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदी, विदेशमन्त्री जयशंकर, सुरक्षा सल्लाहकार डोभाललगायतसँगको भेटवार्तामा नेपाली राजदूत वा राजदूतावासका प्रतिनिधिलाई सहभागी नगराइने भएको छ ।

jagdamba.cement

अध्यक्ष प्रचण्ड शनिबार बिहान नेपाली राजदूतावासमा आयोजित स्वागत समारोहमा सहभागी हुनेछन् । नेपाली दूतावासमा प्रधानमन्त्रीपत्नी डा. आरजु राणा देउवा पनि प्रचण्डसँगको भेटवार्तामा सहभागी हुने तय भएको दूतावास स्रोतले बताएको छ । राणा स्वास्थ्योपचारका क्रममा एक सातादेखि दिल्लीमा छिन् । दिल्लीस्थित प्रवासी नेपालीसँग पनि प्रचण्डले आजै भेट गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका युवा नेता आरबी खड्काले जानकारी दिएका छन् ।

प्रचण्डले शनिबार फाउन्डेसन फर पब्लिक अवेरनेस एन्ड पोलिसी नामक चिन्तन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपाल-भारत सम्बन्धबारे सम्बोधन गर्ने कार्यक्रम छ । यो संस्थाका उपाध्यक्ष भाजपा विदेश विभाग प्रमुख डा. चौथाइवाले हुन् । कार्यक्रम दिल्लीको चाणक्यपुरीस्थित सुष्मा स्वराज भवनमा हुनेछ ।

दिल्ली जानुअघि प्रचण्डले भारत भ्रमण आकस्मिक नभएर पूर्व निर्धारत रहेको बताएका छन् । उनले भारतबाट फर्केर चाँडै नै चीन जाने पनि उद्घोष गरेका छन् । चीनले उनलाई निमन्त्रणा दिएको प्रचण्डको भनाइ थियो । चिनियाँ विदेश विभाग प्रमुख लिउ जियान्चाओले सिपिसीको २०औं महाधिवेशनका लागि कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेतालाई निम्तो दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७