कर्णालीमा मुद्दा फर्स्याैट प्रगति उत्कृष्ट छ : मुख्य न्यायाधीश


३२ असार २०७९, शनिबार
uchha adalat surkhet

सुर्खेत । उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश शेषराज सिवाकोटीले कर्णालीमा मुद्दा फर्स्याैट प्रगति उत्कृष्ट रहेको बताएका छन् ।

उच्च अदालत सुर्खेतद्वारा शुक्रबार आयोजित चालु आव २०७८/०७९ को वार्षिक समीक्षा कार्यक्रममा मुख्य न्यायाधीश सिवाकोटीले तल्लो कर्णालीका पाँच जिल्लाको मुद्दा फर्स्याैट प्रगति हेर्दा लक्ष्यभन्दा माथि नै रहेको बताए । उनले भने, ‘हामीले जनतालाई न्यायको अनुभूति दिलाउने हो । हामीले त्यसैमा दत्तचित्त भएर लाग्नु पर्दछ ।’

उच्च अदालत सुर्खेतका वरिष्ठ न्यायाधीश माधवप्रसाद पोखरेलले सर्वोच्चको पञ्चवर्षीय रणनीति मुताविक कार्ययोजना बनाएर अघि बढिएको बताए । उनले उच्च अदालत सुर्खेतले लक्ष्यभन्दा १७१ प्रतिशत प्रगति गरेको र तल्लो कर्णालीमा पाँच जिल्लाको मुद्दा फर्स्याैट प्रगति पनि अपेक्षाकृत भएको जनाए ।

उच्चकै न्यायाधीशद्वय पुनसिंह चन्द र लेखनाथ ढकालले पञ्चवर्षीय रणनीतिक योजनाअनुरुप बनाइएको लक्ष्य र उद्देश्य पूरा गर्न भोग्नुपरेका समस्या, चुनौती र भावी बाटो के भन्ने कुराको अनुभव अनुभूति आदानप्रदान गर्न वार्षिक समीक्षाले सहयोग पुर्‍याउने धारणा राखे ।

कर्णाली प्रदेश सरकारका मुख्यन्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठ कर्णालीमा न्यायाधीशहरुले लक्ष्यमा अग्रसर भएर जनतामाझ न्याय दिएको भन्दै कृतज्ञता प्रकट गरे । पाँच जिल्लाका न्यायाधीशहरुको प्रतिनिधित्व गर्दै सुर्खेत जिल्ला अदालत सुर्खेतका न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यले मुद्दा फर्स्याैट हुनुमा सहायक तत्व र हुन नसक्नुमा कारक तत्वले काम गरेको टिप्पणी गरे ।

अब न्यायाधीशहरुले न्यायसम्पादनको कार्य प्रणालीको ढाँचामा परिवर्तन ल्याउनुपर्ने उनको भनाइ थियो । नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष उत्तमप्रसाद आचार्यले न्यायसम्पादन प्रणालीलाई समयानुकूल बनाउँदै लैजानुपर्ने र यो जनहितमा हुनुपर्नेमा जोड दिए ।

उक्त वार्षिक समीक्षामा उच्च अदालतका सुर्खेतका रजिष्ट्रार अर्जुनप्रसाद कोइराला, सल्यान जिल्ला न्यायाधीश सुदीप पाण्डे, दैलेख जिल्ला न्यायाधीश दण्डपाणि लामिछाने, रुकुमपश्चिम जिल्ला न्यायाधीश विद्याराज पौडेल, जाजरकोट जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्य र पाँच जिल्लाका श्रेस्तेदार अधिकृतहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७