पानी नपरेपछि धान रोपाइँमा समस्या


३२ असार २०७९, शनिबार
Ropai 2
फाइल फोटो

महोत्तरी । मध्य असारयता छिटो पानी नपरेपछि मधेसको मध्यभेगको महोत्तरीमा धान रोपाइँ अलपत्र परेको छ । महोत्तरीबाहेकका मधेसका अन्य जिल्लामा पनि सिञ्चितबाहेकका आकाशे पानीको भरका खेतमा पानी नभएर नै रोपाइँ रोकिएको छ ।

असार मध्ययता पानी परेको छैन । त्यसअघि परेको पानीमा धान रोप्न भनेर हिल्याइएका खेत अहिले सुकेका छन् । ब्याड पनि लगातार पानी नपाउँदा पहेंलिन थालेको महोत्तरीका किसानले बताएका छन् । असार सिद्धिनै लाग्दासम्म धान रोपाइँले गति लिन नसकेपछि किसान यसपालि अन्नको सङ्कट पर्ने चिन्ताले पिरोलिएका छन् । मुख्यबाली धान नै रोप्न नसकिएपछि परिवार कसरी पालन गर्ने भन्ने चिन्ताले यहाँका किसानलाई पिरोलेको छ ।

‘ल, भन्नोस् न, आज (शनिबार) असार त सकिने हो, पानी नभएर धान रोप्न पाइएन, के गरी गुजारा गर्ने होला ?’ भङ्गाहा नगरपालिका-४ पलारका ८० वर्षीय किसान चौठी बाँतरले वीरक्तिँदै भने । मध्य असारअघिको वर्षाको पानीले एक झमट रोपाइँमा लागेका किसान त्यसयता खेतमा पानी सुकेपछि चिन्तामा परेका हुन् । असार सकिनैलाग्दा धान रोपाइँ जिल्लामा एकतिहाई नाघेको छैन ।

‘उता खेत सुक्दो छ, यता घरमा ज्वरो, रुघाखोकीले परिवारका मान्छे बिरामी भएर लड्दा छन्’, भङ्गाहा नगरपालिका-५ कर्पुरगञ्जका किसान रामजुलुम सर्दारले भने, ‘यो बढ्दो तापले सबै भताभुङ्ग पार्‍यो, न समयमा खेती सक्न पाइयो, न सञ्चोसँग बस्न ।’

जिल्लामा अहिलेसम्म ३३ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरले नै जनाएको छ । रोपोको पनि सुकेकोे छ । रोपाइँ गर्ने भनेर हिल्याइएको खेत चर्को घामले सुकेर गिखरिक्क परेको छ । रोपेको खेतमा धाँजा फाट्दै छ । जिल्लामा कूल ७० हजार खेतीयोग्य जग्गामध्ये लगभग ५० हजार हेक्टर धानखेतीका लागि योग्य मानिन्छ । जिल्लाका १० प्रतिशत जग्गामा स्थायी सिँचाइको प्रबन्ध छ । बिहानैदेखि चर्कने घामको प्रचण्ड राप र सँगसँगैको तातो हावाले कृषि मजदुर काममा निस्कन छाडेका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७