६ महिनामै अमेजनको ३,९८८ वर्ग किमी जङ्गल फँडानी


३२ असार २०७९, शनिबार
amizon
तस्वीर स्रोत : बीबीसी

काठमाडौँ । ब्राजिलको अमेजन जङ्गलको वन फँडानी रेकर्ड ११ प्रतिशतले बढेको छ । राष्ट्रिय अन्तरीक्ष अनुसन्धान एजेन्सी आइएनपीईका अनुसार यो वर्षको शुरुवाती ६ महिनामा न्यूयोर्क शहरभन्दा पाँच गुणा ठूलो क्षेत्र खाली भएको छ ।

जुन गत वर्ष भएको वन फँडानी भन्दा १० दशमलव ६ प्रतिशत बढी हो । ब्राजिलको सरकारी तथ्याङ्क अनुसार सन् २०२२ को जनवरीदेखि जुनसम्ममा ३,९८८ वर्ग किलोमिटर अमेजन जङ्गल नष्ट भएको छ । यो सन् २०१५ यताकै धेरै फँडानी हो ।

आइएनपीईको प्रतिवेदनअनुसार यस वर्षको जुन महिनामा मात्रै ५ दशमलव ५ प्रतिशतले वन फँडानी बढेको छ र १,१२० वर्ग किलोमिटर क्षेत्रफल नष्ट भएको छ । समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार अमेजन जङ्गल कटानका कारण त्यहाँ आगलागीका घटना पनि असामान्य रूपमा बढेका छन् । योसँगै आगामी महिनाहरूमा यो अवस्था झन् खराब हुनसक्ने विज्ञहरुले आशंका व्यक्त गरेका छन् ।

आइएनपीईको प्रतिवेदनले जुन महिनामा ब्राजिलको अमेजनमा विगत १५ वर्षयताकै सबैभन्दा बढी जङ्गलमा आगलागी भएको जनाएको छ । यसबारेमा ब्राजिलका विज्ञहरूले राष्ट्रपति जैर बोल्सोनारोको आलोचना गरेका छन् । राष्ट्रपति बोल्सोनारोका केही नीतिका कारण अमेजन आज यो अवस्थामा पुगेको विज्ञहरुको भनाई छ । सामान्यतया काठ काट्नेले रुख निकालेपछि त्यहाँ खेती गर्न सकियोस् भनेर जग्गा हडप्नेहरु र किसानले आगो लगाउँछन् ।

वुडवेल क्लाइमेट रिसर्च सेन्टर र युनिभर्सिटी अफ अक्सफोर्डकी वन आगो र वन फँडानी अनुसन्धानकर्ता मानोएला मचाडो भन्छिन्, ‘धेरै जङ्गल कटाईका कारण अमेजनमा थप आगालागीहरू पनि भइरहेका छन्, जुन आगामी महिनाहरूमा अझ खतरनाक हुनेछन् ।’

अमेजन संसारको सबैभन्दा ठूलो वर्षावन हो । यसको अधिकांश हिस्सा ब्राजिलमा पर्दछ । अमेजनको जगङ्गमा ठूलो मात्रामा कार्बन हुन्छ, जुन रुख काट्दा उत्सर्जन हुन्छ । यसले वायुमण्डलमा कार्बनको स्तर बढाउँछ, जसले गर्मी बढाउँछ । साथै जलवायु परिवर्तनमा योगदान गर्दछ । स्रोत : भाष्कर डटकम

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७