नेपाली सेनाका उपरथी थापा यूएन मिसनको फोर्स कमाण्डर नियुक्त


३२ असार २०७९, शनिबार
un

काठमाडौँ । संयुक्त राष्ट्र संघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसले नेपाली सेनाका उपरथी निर्मलकुमार थापालाई फोर्स कमाण्डर नियुक्त गरेका छन् । महासचिव गुटेरेसले शुक्रबार थापालाई सिरिया र इजरायलबीचको विवादित क्षेत्र गोलान हाइटमा ४० भन्दा बढी मुलुकका शान्ति सैनिकहरुलाई ‘यूएन डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स’ को नेतृत्व गर्ने जिम्मेवारी दिएका हुन् ।

शान्ति मिसनको दुई वर्षे जिम्मेवारी पूरा गरेर नेपाली सेनाका रथी ईश्वर हमाल फर्किसकेका छन् । अब हमालको स्थानमा थापाले गएर काम गर्ने छन् । थापाले अहिले आफ्नो नियुक्तिका बारेमा मात्र थाहा भएको र कुन मितिबाट जिम्मेवारी सम्हाल्न जाने भन्ने विषयमा अहिले नै जानकारी आइनसकेको बताए । फोर्स कमान्डरको जिम्मेवारी पहिलो पटक एक वर्षका लागि हुन्छ । त्यसपछि अर्को वर्ष पनि थप्ने प्रावधान रहेको छ ।

नेपाली सेनाले नेपाल सरकारको स्वीकृतिमा उपरथी थापालाई फोर्स कमान्डरका लागि स्वीकृति दिएको थियो । त्यही आधारमा सेनाले फोर्स कमान्डरको गृहकार्य गर्‍यो । थापा हाल सैनिक मुख्यालयको युद्ध महानिर्देशनालयका महानिर्देशकका रूपमा कार्यरत छन् ।

विश्व शान्तिका लागि सेना पठाउने देशमध्ये संख्याको हिसाबले नेपाल दोस्रो नम्बरमा छ । नेपाली सेनाका अनुसार बुधबारसम्म विश्वभरका विभिन्न ११ मिसनमा ५ हजार ५ सय ७० सैनिक शान्ति स्थापनाका लागि खटिएका छन् । नेपाल सन् १९५५ मा यूएनको सदस्य भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७