‘रोजगारी सिर्जनामा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका छ’


३२ असार २०७९, शनिबार
tourism

काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले राष्ट्र निर्माण र रोजगारी सिर्जनामा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

ठमेल पर्यटन विकास परिषद्को २५, २६ र २७ औँ वार्षिक साधारणसभा एवं निर्वाचनको आज उद्घाटन गर्दै उनले राष्ट्र निर्माण र रोजगारी सिर्जनामा पर्यटन क्षेत्रले खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गरे ।

‘पर्यटन क्षेत्रले नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाएको छ, कोरोनाबाट थलिएको पर्यटनलाई अगाडि बढाउन स्थानीय प्रशासन सधैँ सहयोग गर्न तयार छ’, उनले भने । केही पर्यटन व्यवसायीबाट ठमेललाई बद्नाम गराउने कार्य भएको भन्दै उनले त्यस्ता व्यवसायीमाथि स्थानीय प्रशासनले निगरानी गरिरहेको उल्लेख गरे ।

प्रजिअ रिजालले देशकै पुरानो पर्यटकीय क्षेत्रलाई जोगाएर राख्नु सबै व्यवसायी तथा घरधनीको उत्तिकै दायित्व हुने बताए । काठमाडौँ महानगरपालिका-२६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेल क्षेत्रमा कसरी पर्यटक बढाउन सकिन्छ भन्नेबारे सोच्न सबै व्यवसायीलाई आग्रह गरे । ठमेलको विकासका लागि स्थानीय सरकार सधैँ सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो ।

‘ठमेलको विकासका लागि सोच्नुभन्दा पनि कसरी नेतृत्व आफ्नो हातमा ल्याउन सकिन्छ भन्नेबारे व्यवसायी लागेका छन्, यो ठमेलका लागि दुर्भाग्य हो’, उनले भने । रात्रिकालीन व्यवसायलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे व्यवसायीले सोच्नुपर्ने बेला आएको अध्यक्ष तिवारीको भनाइ छ ।

ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले रोजगारी सिर्जना गर्ने व्यावसायिक थलो ठमेलको विकासमा सबै एकजुट भएर लाग्नुपर्ने बताए । ठमेल पर्यटन परिषद्का पूर्वध्यक्ष डा. रामशरण थपलिया र समीर गुरुङले घरधनी तथा व्यवसायी मिलेर ठमेल क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिए ।

विसं २०४७ मा स्थापना भएको ठमेल पर्यटन परिषद्मा नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनमा ठमेल क्षेत्रका एक हजार ५९९ घरधनी तथा व्यवसायीले आफ्नो मताधिकार प्रयोग गर्ने परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले जानकारी दिए । ठमेलको नयाँ नेतृत्वका लागि भविश्वर शर्मा र ध्रुव अधिकारीको समूहबीच प्रतिस्पर्धा हुने भएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७