हामी कसैका दास होइनौं, लागेका कुरा भन्छौं : शेखर कोइराला


३२ असार २०७९, शनिबार
shekhar koirala

गैंडाकोट । सत्तारुढ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेतृत्वले गलत गर्दा बोल्नु र औंल्याउनु पर्ने बताएका छन् । आज (शनिबार) दिउँसो गैँडाकोटमा डा. कृष्णप्रसाद पौडेलको पुस्तक’ लय छुटेको समय’ को विमोचन गर्दै नेता कोइरालाले आफूहरू कसैको दास नभएको बताएका हुन् । डा. पौडेल भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हुन् ।

कोइरालाले अहिलेको नेतृत्वलाई सही बाटोमा हिँडाउन र कांग्रेसको अस्तित्व बचाउनका लागि आफूहरू लडिरहेको बताएका छन् । ‘नेतृत्वलाई गलत गर्‍यौँ भनेर भन्न सकेनौँ भने तिमीहरू दास हौ भन्नु भएको थियो बीपी कोइरालाले । हामी कसैको दास होइनौँ । हामीलाई लागेका कुराहरू हामी भन्छौँ हामी बोल्छौँ । र नेतृत्वलाई करेक्सन गर्ने बाटो भनेन भने त नेतृत्वले जे पनि गर्छ ।’

उनले भने भने, ‘कांग्रेसमा विधान छ त्यो विधानलाई टेकेर अगाडि बढ्न हामीले भनेका छौँ । विधिसम्म तरिकाले हिँड्नुहोस् भनेका छौँ । न्यायोचित तरिकाले जिम्मेवारी वितरण होस् भनेका छौँ । कसैलाई काखा कसैलाई पाखा नगरौँ भनेका छौँ ।’

नेता कोइरालाले कांग्रेस र कम्युनिस्टबीचको गठबन्धन नमिलेको जस्तो देखिएको पनि बताएका छन् । । समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणालीका कारण कुनै पनि पार्टीको बहुमत आउने सम्भावना नरहेको उल्लेख गर्दै उनले विचार मिल्नेहरूसँग तालमेल र गठबन्धन हुनुपर्ने बताएका छन् । कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन हुनुपर्ने पनि उनको भनाइ छ ।

चुनावपछि पनि गठबन्धन हुन सक्ने उनको भनाइ थियो । कोइरालाले नेपाली कांग्रेसको विचार र सिद्धान्तलाई कमजोर नबनाइकन आगामी प्रदेश र संघको चुनावमा तालमेल र गठबन्धन गर्नेबारे निणर्य गर्न पनि नेतृत्वलाई सुझाव दिएका छन् । उनले भने, ’नेपाली कांग्रेसको अस्तित्व समाप्त नहोस् भनेर अहिले हामी लडिरहेका छौँ । कांग्रेसलाई कमभन्दा कम क्षति हुनेगरी चुनावमा जानुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७