तनहुँको पानीमा इकोलीफर्म जीवाणु, अस्पतालको पानी पनि पिउन अयोग्य


३२ असार २०७९, शनिबार
water

तनहुँ । तनहुँका १० वटै स्थानीय तहको पानीमा दिसामा पाइने जीवाणु (इकोलीफर्म) भेटिएको छ । पानीको नमूना परीक्षण गर्दा सो जीवाणु भेटिएको हो ।

तनहुँका धारा, मूल, ट्याङ्की र इनारको पानीको नमूना परीक्षणका क्रममा ६७ प्रतिशत उक्त जीवाणु भेटिएको हो । काठमाडौँमा हैजाका बिरामी भेटिन थालेपछि उच्च सतर्कता अपनाउन जिल्लाका खानेपानीका स्रोतको नमूना परीक्षण गरिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक राजेन्द्र रानाभाटले जानकारी दिए ।

खानेपानीका मूल र स्रोतको नमूना परीक्षण गर्दा अधिकांश क्षेत्रको पानी पिउनयोग्य नरहेको पाइएको रानाभाटले बताए । ‘अधिकांश मूल र धाराको पानी खान योग्य छैन, परीक्षण गर्दा इकोलीफर्म भेटियो’, उनले भने । जिल्लाका ७६ पानीको स्रोतको नमूना परीक्षण गरिएकामा ५१ स्रोतमा दिसामा पाइने जीवाणु भेटिएको हो ।

व्यास नगरपालिकामा १० नमूना परीक्षण गरिएकामा दुई स्रोतको मात्र पानी पिउनयोग्य पाइएको रानाभाटले जानकारी दिए । भानु नगरपालिकाको तीन नमूना परीक्षण गरिएकामा सबैमा इकोलीफर्म भेटिएको छ । आँबुखैरेनीमा पाँच ठाउँमा परीक्षण गरिएकामा तीनमा इकोलीफर्म भेटिएको छ । घिरिङको तीनवटै नमूना परीक्षणका क्रममा इकोलीफर्म पाइएको रानाभाटले जानकारी दिए ।

त्यसैगरी देवघाटमा नमूना परीक्षणका क्रममा पाँच पिउनयोग्य रहेको पाइएको, बन्दीपुर गाउँपालिकाको पाँच वटामध्ये एउटा मुहानमा मात्रै योग्य र म्याग्देको सात नमूना परीक्षणमा दुई योग्य रहेको पाइएको छ । शुक्लागण्डकी नगरपालिकाको ११ नमूना परीक्षणमा तीन स्रोत योग्य रहेको पाइएको छ । शुक्लागण्डकी नगरपालिकामा वितरण गरिएका धाराको पानीमा जीवाणु भेटिएको उनले बताए ।

त्यसैगरी ऋषिङ गाउँपालिकाको नमूना परीक्षणमा चार मूलको पानी पिउनयोग्य पाइएको छ । पहिलो चरणमा ससाना मूल, ट्याङ्की, धारा र इनारको पानीको नमूना परीक्षण गरिएको हो । नमूना परीक्षण गरिएका अधिकांश खानेपानीका स्रोत अयोग्य भेटिएको छ ।
ठूला खानेपानी आयोजनाको पनि छिट्टै नमूना परीक्षण गरिने स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । पानीका स्रोतमा इकोलीफर्म देखिएका सम्बन्धित पालिकालाई जानकारीसहित खानेपानीको रिपोर्ट पठाइएको कार्यालयले जनाएको छ । पानीका मुहानको सरसफाइ गर्न, पानी शुद्धीकरण गर्न, तताएर, फिल्टर गरेर मात्रै पिउन सुझाव दिइएको छ ।

अस्पतालको पानी पनि पिउन अयोग्य

दमौली अस्पतालकै पानीको नमूना परीक्षण गर्दा इकोलीफर्म भेटिएको छ । अस्पतालको धारो र जमिनमुनिको पानी पिउन अयोग्य रहेको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । दमौली अस्पतालको दुई स्रोतको पानीमा इकोलीफर्म भेटिएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७