देउवालाई दुई सहमहामन्त्रीको प्रश्न : भ्रातृ संस्था गठन गर्दा शेखरसँग किन सल्लाह गरिएन ?


३२ असार २०७९, शनिबार
congress scaled

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारले भ्रातृ संगठनहरु नेपाल विद्यार्थी संघ र तरुण दलका तदर्थ समिति गठन गर्दा नेता शेखर कोइरालासँग छलफल नगरेको भन्दै आपत्ति जनाएका छन् ।

पार्टी कार्यालय सानेपामा जारी आजको केन्द्रीय कमिटीको बैठकमा बोल्दै पाण्डे र परियारले पार्टी सभापति शेरबहादुर देउवा समक्ष प्रश्न उठाएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलका अध्यक्षमा विद्वान् गुरुङलाई मनोनयन गरेका थिए ।

‘नेविसंघ र तरुण दलको अध्यक्ष मनोनयन गर्दा शेरखसँग छलफल नै गरिएन र एकलौटी गर्न खोजियो,’ पाण्डेले बैठकमा भने । अर्का सहमहामन्त्री परियारले महाधिवेशनमा ४० प्रतिशत मत प्राप्त गरेका शेखर कोइरालासँग सभापतिले छलफल नगर्नु दुःखद् भएको बताए । ‘भ्रातृ संस्थाको तदर्थ समिति गठनलगायत विषयमा छलफल नै नगरी सभापति देउवा एकलौटी ढंगले अघि बढ्न खोज्नुभयो,’ परियारले भने ।

कांग्रेसको १४ औं महाधिवेशनमा देउवासँग सभापतिमा कोइरालाले प्रतिस्पर्धा गरेका थिए । पाण्डे र परियार दुवै कोइरालाको प्यानलबाट महाधिवेशनमा प्रतिस्पर्धा गरेका थिए । गत आइतबारदेखि जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्नेक्रम सकिएको छ । मन्त्रीहरूले बोल्नेक्रम सकिएपछि पदाधिकारीको पालो शुरु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७