कांग्रेस वैठकमा गगनले भने, ‘आफ्नै सरकारको बचाऊ गर्न नसक्ने अवस्था भयो’


३२ असार २०७९, शनिबार
Gagan Thapa congress

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति एकलौटी ढंगले अघि बढ्न खोजेको भन्दै आपत्ति जनाएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्दै महामन्त्री थापाले सभापति शेरबहादुर देउवाले आफूहरुसँग सामान्य सल्लाह पनि नगरेको गुनासो गरे ।

महामन्त्री थापाले आफ्नै पार्टी नेतृत्वको सरकारको वचाउ गर्न सक्ने अवस्था नभएको बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा शनिबार आफ्नो धारणा राख्दै उनले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारको तीव्र आलोचना गरेका आफूहरुलाई अहिले आफ्नै सरकारको वचाउ गर्न गाह्रो भएको बताएका हुन् ।

उनले भने, ‘महाधिवेशनमा उहाँ पनि निर्वाचित भएर आएको हो, हामी महामन्त्रीहरू पनि निर्वाचित भएर आएका हौँ । तर, महाधिवेशनपछि हामीले उहाँलाई असहयोग गर्ने कुरा होइन, सहयोग गर्न खोजेकै थियौँ । तर हामीले सल्लाह र परामर्श दिँदा दिँदै पनि सभापतिले विधानले दिएकै कामहरू समयमा गर्न सक्नु भएन । त्यसको दोष हामीहरूमाथि आउन थालेको छ ।’

सभापतिलाई सहयोग गरेर पार्टीलाई बलियो बनाउन आफूहरु कस्सिएर लाग्दा पनि सभापतिले बेवास्ता गरेको उनले बताएका छन् । ‘हाम्रो पार्टी कस्तो बनाउने ? कसरी चलाउने ? भन्ने कुरामा महामन्त्रीको भूमिका के हुन्छ ? सभापतिको भूमिका के हुन्छ ? त्यो विधानले प्रष्ट बोलेको छ । सभापतिलाई सहयोग गरेर पार्टीलाई बलियो बनाउन हामी कस्सिएर लाग्यौँ, तर सभापतिले हामीलाई सामान्य सरसल्लाह समेत नगरी निणर्य गर्ने अभ्यास गरिरहनु भएको छ,’ उनले भने ।

उनले भ्रातृ संगठनमा नियुक्ति गर्दा पनि आफूहरुलाई नियुक्त भइसकेपछि मात्र थाहा भएको कुरा सुनाए । उनले भने, ‘पार्टीका सदस्य, पदाधिकारी नियुक्त गर्ने, विभाग गठन गर्ने, भ्रातृ संस्थामा मनोनयन गर्ने सबै अधिकार सभापतिजीसँग छ । त्यसमा पार्टीभित्र सल्लाह गरेर मनोनयन गर्ने भनेर केन्द्रीय समितिबाट निणर्य गरेर हामीले नै अधिकार दिएका हौँ । तर कतिपय भ्रातृ संस्थामा अध्यक्ष नियुक्त भइसकेपछि मात्रै थाहा हुन्छ, यसरी कसरी पार्टी चलाउन खोज्नु भएको हो ?’

उनले थपे, ‘म अहिले मात्रै होइन, पहिल्यैदेखि समूहका छलफलमा सहभागी भएर आएको हुँ । मैले फोहोर हेरें, म बुढानिलकण्ठ जान्थें, चाक्सीबारी पनि जान्थें, बोहराटार पनि गएको हुँ । पहिल्यैदेखि सबै जाने अभ्यास हुँदै हो । अहिले हामी गएकोमा किन विरोध भएको हो ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७