नेविसंघ र अखिल (क्रान्तिकारी) ले आज गभर्नर अधिकारीलाई कार्यालय प्रवेश रोक्ने


१ श्रावण २०७९, आईतवार
Maha prasad adhikari

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरु नेविसंघ र अखिल (क्रान्तिकारी) ले आज (आइतबार) गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै कार्यालय घेराउ र बिरोध प्रदर्शन गर्ने भएका छन ।

दलीय सलंग्नता र शैक्षिक योग्यता समेतका बिषयहरुमा प्रश्न उठेको भन्दै युवा विद्यार्थी संगठनहरु केही दिनयता आन्दोलित रहेकोमा नेविसंघ र अखिल (क्रान्तिकारी) ले आज घेराउ र बिरोध प्रदर्शन गर्दै कार्यालय प्रवेशमा रोक लगाउने भएका हुन् ।

आइतबार बिहान १० बजे बालुवाटार ३ नम्बर गेटसँगै रहेको नेपाल राष्ट्र बैंकको गेटमा भेला भइ गभर्नर अधिकारीलाई कार्यालय प्रबेशमा रोक लगाउने कार्यक्रम रहेको अखिल (क्रान्तिकारी) का उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए ।

बिरोध कार्यक्रमलाई नेविसंघ अध्यक्ष डुजाङ शेर्पा र अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले सम्बोधन गर्ने पनि मैनालीले बताए । गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्तिबारे बहस र आलोचना शुरु भएको हो ।

अधिकारीको नियुक्ति ‘राजनीतिक संलग्नता नभएको स्वतन्त्र ब्यक्ति मात्र गभर्नर हुनसक्ने प्रावधान’ विपरीत भएको खुल्न आएको भएको भन्दै युवा विद्यार्थी संगठनहरुले बिरोध चर्काएका हुन् । सरकारलाई दबाब बढाउने नीति अनुरुप यसअघि शुक्रबार नेविसंघले माइतीघरमा प्रदर्शन गरेको छ भने शनिवार वाइसीएल नेतृत्वको टोलीले गभर्नरलाई बर्खास्त गरी छानबिन अघि बढाउन प्रधानमन्त्रीलाई भेटेरै ज्ञापन पत्र बुझाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७