खेतमा सिक्टाको पानी पुगेपछि किसान हर्षित


१ श्रावण २०७९, आईतवार
Sikta 1

बाँके । सिक्टा सिँचाइ आयोजनाको पानी खेतबारीमा पुगेपछि बाँकेको फत्तेपुरका किसान हर्षित भएका छन् । आयोजनाले पूर्वी नहरमार्फत राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरस्थित पुरानो नहरमा पानी छाडेपछि रमाएका हुन् ।

वर्षात् नभएका कारण सहजरूपमा धान रोप्न नसकेको बेला खेतबारीमा सिक्टाको पानी पुगेपछि किसानलाई ठूलो राहत पुगेको राप्तीसोनारी गाउँपालिका-६ का वडाध्यक्ष लवराज खरेलले जानकारी दिए ।

उनका अनुसार पक्की नभएका कारण उक्त नहर पटक-पटक बन्द हुँदै आएको थियो । किसानको मागअनुसार सिक्टा सिँचाइ आयोजनामा पहल गरेपछि आयोजना कार्यालयले पुरानो नहरमा पानी छाडिदिएको हो । उक्त नहरको पानीले वडा नं ६ र ७ किसानले खेती गर्न सक्नेछन् ।

आयोजनाले अगैयास्थित मुख्य बाँधबाट राप्तीसोनारीको बैजापुर, बिनौना, फत्तेपुर हुँदै नरैनापुर गाउँपालिकासम्म राप्ती नदीको पानी पुर्‍याउने लक्ष्यका साथ नहर निर्माणकार्य गरिरहेको छ । यसअघि फत्तेपुरका स्थानीयवासीले पटक-पटक पुरानो नहरको इन्टेकमा कच्ची बाँध बनाएर राप्ती नदीको पानी सञ्चालन गर्न खोजे पनि नियमितरूपमा पानी सञ्चालन हुनसकेको थिएन ।

सिक्टा सिँचाइ आयोजनाले पहिलोपल्ट पूर्वी नहरमा सात क्युमेक्स पानी छाडेको छ । नहरमा पानी बगेपछि राप्तीसोनारी गाउँपालिकाको फत्तेपुर क्षेत्रका किसानले चार क्युमेक्स पानी पाएको आयोजनाका निर्देशक सन्तोष कैनीले जानकारी दिए ।

उनका अनुसार पूर्वी मूल नहरको २४.६ किलोमिटर दूरीसम्म राप्तीको पानी पुगेको छ । यसअघि पश्चिम मूल नहर र राजकुलोबाट पानी छाडिएको थियो । वर्षा नभएका कारण रोपेको धान सुक्न थालेको र कतिपय किसानले रोपाइँ गर्न नपाएका कारण नहरमा पानी छाडिएको हो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७