डाक्टर कृष्णप्रसाद पौडेलको ‘लय छुटेको समय’


१ श्रावण २०७९, आईतवार
ezgif 1 ab62ea16df

काठमाडौँ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलद्वारा लिखित ‘लय छुटेको समय’ नामक पुस्तक सार्वजनिक भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय नेता डा शेखर कोइरालाले शनिबार यहाँ आयोजित सो पुस्तकको विमोचन गरे । विसं २०५१ देखि २०५६ सम्म बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डा. कोइरालाले डा. पौडेललाई पढाएका हुन् । पछिल्ला दिन राजनीतिमा सक्रिय रहेका डा कोइरालाले चिकित्सा विषयमा ‘एमडी’ अध्ययन गरेका छन् । उनी ‘फिजिसियन’ हुन् । डा. पौडेल ‘अर्थोपेडिक सर्जन’ हुन् । चिकित्सा सेवासँगै डा. पौडेल साहित्यमा रुचि राख्छन् ।

पुस्तक विमोचन गर्दै कांग्रेसका नेता डा. कोइरालाले डा. पौडेलले समाज बुझेर पुस्तक लेखेको धारणा राखे । उनले भने, ‘उपचारमा व्यस्त हुने चिकित्सकले लेखे पनि पुस्तकको भाषा र प्रस्तुति रुचिकर र रसिलो छ । समाजको आवश्यकता बुझेर लेखेको पाएँ, उहाँ चिकित्सकमात्रै नभएर समाजशास्त्रमा स्नातकोत्तर गरेको व्यक्ति भएका कारणले यो सम्भव भएको हो ।’

लेखक डा. पौडेलका अनुसार ‘लय छुटेको समय’ कोरोना महामारीका बेलामा लेखिएको पुस्तक हो । यसमा दुई खण्ड छन् । पहिलोमा उहाँले बिरामीसँग जोडिएका संस्मरण समेटेका छन् । बिरामीको मनोविज्ञान र आफ्नो अनुभूतिको समिश्रण समेटिएको यो खण्ड रोचक पाइन्छ । बिरामीका समस्या, अप्ठ्यारा परिस्थिति तथा बाध्यतालाई उनले रोचक कहानीको स्वरुप दिएका छन् । डा. पौडेलले भने, ‘म गुरुको हातबाट किताब सार्वजनिक होस् भन्ने चाहन्थेँ त्यो आज भयो ।’

पुस्तकमा कोरोनाकालमा लेखेका केही डायरीहरूका साथै बिरामी र चिकित्सकको सम्बन्ध र समस्या जस्ता विषय समेटिएको छ । निबन्ध विधाअन्तर्गत रहेको यो किताबमा कविता, हाइकु, मुक्तक, संस्मरण र कथाहरू समेत रहेको डा. पौडेलले बताए । दुई खण्ड रहेको पुस्तकमा ‘उपचारको उपक्रम’ भन्ने खण्डमा २२ र ‘लकडाउन डायरी’मा ३६ गरी ५८ लेखहरू रहेको छ ।

पुस्तकमा लेखकको चिकित्सकीय र समाजशास्त्रीय दुवै खाले दृष्टिकोणहरू अटाएको छ । उनले बिरामी, रोग र उपचारसँग जोडिएर आउने निदानका उपायका साथै अनुभव र मनोभावना राखेको पुस्तकको समीक्षा गरेका एकनारायण पौडेलले जानकारी दिए । साङ्ग्रिला बुकले सो पुस्तक सार्वजनिक गरेको हो । ‘खुसीहरूको वनवास’ कविता सङ्ग्रहबाट नेपाली साहित्यमा पाइला अघि बढाएका डा. पौडेलको दुई वर्षअघि ‘कम्मरीदेखि कोभिड कहर’ पुस्तक बजारमा आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७