पाँच लाख र मोवाइल ‘सेट’ को प्रलोभनमा भारतमा मिर्गौला बेच्दै नेपाली

सडक आश्रित मानवको पनि मिर्गौला बिक्री प्रयास


१ श्रावण २०७९, आईतवार
kidni bikri

काठमाडौँ । काठमाडौँको सडकलाई नै आश्रय बनाएर हिंड्ने व्यक्तिको पनि मिर्गौला बिक्रीको प्रयास भएको छ । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराधमा संलग्न एक समूहले सडकमा आश्रित मानवलाई प्रलोभनमा पारेर मिर्गौला बिक्री उद्योग गरेको पाइएको हो । उनीहरुलाई मनाउन सजिलो हुने भएकाले गिरोह सडक आश्रित मानवको अङ्ग बिक्री उद्योगमा लागेको प्रहरीले जनाएको छ ।

उनीहरुको योजना प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोको टोलीले यसपटक असफल पारिदिएको छ । सडक बालबालिकालाई प्रलोभनमा पारी मिर्गौला बिक्रीका लागि भारत लैजाने दिनमै प्रहरीले उक्त योजना विफल बनाइ तीन जनालाई उद्धार गर्न सफल भएको छ ।

मिर्गौला बेचबिखन उद्योगमा संलग्न रहेको आरोपमा प्रहरीले रामेछापको मन्थली नगरपालिका-५ घर भई भक्तपुरको थिमी बस्ने २८ वर्षका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीको तम्घास घर भई काठमाडौँ महानगरपालिका-७ गौशाला बस्ने विजय कुँवर, दैलेख घर भई काठमाडौँको कालोपुल बस्ने भूपेन्द्र शाही र विमलबहादुर शाही तथा झापा घर भई भक्तपुर बस्ने आशिष तामाङलाई पक्राउ गरेको ब्युरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।

उनीहरु सबै नेपालबाट मानिस भारतसम्म पुर्‍याउने समूहका हुन् । भारतबाट अर्को समूह परिचालन हुने गरेकाले सङ्गठितरुपमा मानव बेचबिखनमा संलग्न रहेको मल्लले जानकारी दिए । उक्त गिरोहले यसअघि नै तीन जनालाई भारत पुर्‍याइसकेको पाइएको र उनीहरुको अवस्था थाहा हुन सकेको छैन ।

उनका अनुसार आरोपी रोका र कुँवरले अन्य प्रतिवादीलाई परिचालन गरी काठमाडौँको सडकपेटीमा हिँड्ने व्यक्तिसँग चिनजान गरी प्रलोभनमा पारेर मिर्गौला बेचबिखन गर्न लगाउने गरेका थिए । उनीहरुले भारतको कोलकातामा गइ मिर्गौला बिक्री गर्दा रु पाँच लाख कमाइ हुने र रु ५० हजार पर्ने मोबाइल पनि पाइने भनी प्रलोभन दिएको खुल्न आएको छ ।

उनीहरुले सडक बालबालिकालाई मनाएर गत असार १५ गते मिर्गौला बिक्रीका लागि भारत लैजाने योजना बुनेका थिए । उक्त सूचना प्राप्त भएपछि व्युरोको टोलीले भूपेन्द्र शाही, विजय कुँवर र विमलबहादुर शाहीलाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा रोका र छोटे भन्ने आशिष तामाङलाई असार २८ मा पक्राउ गरिएको हो ।

अनुसन्धानमा शाही र रोकाले यसअघि आफ्नै मिर्गौला बिक्री गरेको र त्यसपछि अन्य व्यक्तिको मिर्गौला खरिद बिक्रीमा अपराधमा संलग्न भएका हुन् । पक्राउ परेकामध्ये रोकाले मिर्गौला प्राप्त गर्ने व्यक्तिसँग मोलमोलाई गर्ने, ग्रहणकर्ताको आवश्यकताअनुसार मिर्गौला दाता खोज्न सहयोगी परिचालन गर्ने, पीडितलाई भारत लैजाने र मिर्गौला झिकेपछि नेपाल फर्काने कार्य गर्ने गरेको प्रहरीले दाबी छ ।

आरोपी कुँवरले रोकाको निर्देशनमा ग्रहणकर्ताको रक्त समूह यकीन गर्ने, पीडितलाई भारतसम्म लैजान सहयोग गर्ने गरेको खुलेको छ । यस्तै शाही र तामाङले भने मिर्गौला दाताको खोजी गर्ने, प्रलोभनमा पार्ने र सुरक्षितसाथ होटलमा राख्ने कार्य गर्ने गरका पाइएको छ । उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार म्याद थप गरी कारवाही प्रक्रिय अघि बढाइएको ब्युरोले जानकारी दिएको छ । ब्युरोका अनुसार मुलुकमा आर्थिक वर्ष २०७८/७९ मा मानव बेचबिखनका १४२ मुद्दा दर्ता भएका छन् ।

उक्त मुद्दामा १७८ जनालाई पक्राउ गरी कारवाही चलाइएको छ । अहिलेसम्म बेचबिखन अपराधका १०९ आरोपी फरार छन् । ब्युरोका अनुसार विभिन्न क्षेत्रबाट ५० जनाको उद्धार गरिएको छ । प्राप्त विवरणअनुसार भारतबाट सबैभन्दा बढी १५ जनाको उद्धार गरिएको छ । यस्तै ओमान, कुवेत, श्रीलङ्का, इराकबाट एक/एक गरी १७ जनाको उद्धार गरेको जनाइएको छ ।

ब्युरोका अनुसार वैदेशिक रोजगारसम्बन्धीका सात मुद्दा दर्ता भई २१ अभियुक्तमध्ये आठ जनालाई पक्राउ गरिएको छ । प्रहरीको वैदेशिक रोजगार विभाग शाखाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन बढ्दो रहेकाले यसतर्फ पनि प्रहरीले निगरानी बढाएको जानकारी दिए । उनले पैसा नउठ्ने डरले पीडितहरु भने मुद्दा दर्ता गर्न डराउने गरेको पनि जानकारी दिए ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लगेमा तथा प्रचलित कानुनबमोजिमबाहेक मानिसको अङ्ग झिकेमा मानव बेचबिखन गरेको मानिने उल्लेख छ । कुनै प्रकारको फाइदा लिई वा नलिइ वेश्यावृत्तिमा लगाउनेलाई दशदेखि १५ वर्षसम्म कैद र रु ५० हजारदेखि एक लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

यस्तै मानव बेचबिखनका लागि विदेश लैजानेलाई दश वर्षदेखि १५ वर्ष कैद र रु ५० हजारदेखि एक लाखसम्म जरिवानाको व्यवस्था छ । मानव बेचबिखन वा ओसारपसारको कसूर गर्न दुरुत्साहन, षड्यन्त्र वा उद्योग गर्नेलाई वा सो कसूरको मतियारलाई सो कसूर गर्दाको हुने सजायको आधा सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७