सभामुख सापकोटासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट


१ श्रावण २०७९, आईतवार
agni

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि नव नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले लामो अनुभव र महत्वपूणर् जिम्मेवारी बहनको अनुभवसहित नेपालको राजदूतमा नियुक्त श्रीवास्तवको कार्यकाल दुई देशबीचको सम्बन्धलाई गुणात्मक उचाइमा पुर्‍याउन सफल हुने विश्वास गरे ।

नेपाल र भारतबीच मौलिक एवं बहुआयामिक सम्बन्ध रहेको चर्चा गर्दै सभामुख सापकोटाले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्ष र भारतले आफ्नो स्वतन्त्रताको ७५औँ वर्ष मनाइरहेको सन्दर्भ स्मरण गरे । उनले नेपाल र भारतबीच सदियौँदेखि सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध रहेको चर्चा गर्दै दुई देशका जनताकाबीचको सम्बन्ध अझ गहिरो रहेको धारणा राखे ।

सभामुख सापकोटाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो लुम्बिनी भ्रमणले धार्मिक पर्यटनमा ठूलो योगदान पुर्‍याएको र नयाँ अध्यायको सुरुआत गरेको बताए । दुबै देशबाट भएका उच्चस्तरीय भ्रमणले नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाएको उनको भनाइ थियो ।

भेटमा सभामुख सापकोटाले कोभिड-१९ को महामारीका बेला भारतले आफू त्यसविरुद्ध जुँधिरहँदा समेत नेपाललाई स्वास्थ्य सामग्री र खोप उपलब्ध गराउँदै एउटा छिमेकीको मात्रै नभएर मानवीयता प्रदर्शन गरेको भन्दै राजदूत श्रीवास्तवलाई धन्यवाद दिए । उनले जलवायु परिवर्तनलगायत विश्व राजनीतिक मञ्चमा देखा परेका सङ्कट समाधानमा दुबै देशले साझा समझदारी बनाउँदा राम्रो हुने धारणा राखे ।

‘विश्व शान्तिका लागि मिलेर अघि बढ्नुपर्छ’, सभामुख सापकोटाले भने । उनले भारतको लोकतान्त्रिक अभ्यासबाट नेपालले सिक्न चाहेको उल्लेख गर्दै दुवै देशका राम्रा अभ्यास आदानप्रदान गर्न सकिने धारणा राखे । सभामुख सापकोटाले नेपालमा रासायनिक मल अभावले नेपाली किसान चिन्तित बनेको उल्लेख गर्दै भेटमा मलको विषयलाई महत्वका साथ उल्लेख गर्न चाहेको बताए ।

सभामुख सापकोटासँगको भेटमा भारतीय राजदूत श्रीवास्तवले भारतको ‘छिमेकी पहिलो नीति’ रहेको चर्चा गर्दै आठ वर्षमा पाँच पटक प्रधानमन्त्रीको तहबाट नेपाल भ्रमण भएको स्मरण गरे । लामो र ऐतिहासिकसम्बन्ध रहेको दुबै देशका बीचमा सहकार्यका थुप्रै सम्भावना रहेको चर्चा गर्दै उनले सम्पर्क सञ्जालको अझै विस्तार गर्न सकिने धारणा राखे । जलवायु परिवर्तनको असर दक्षिण एसियाको साझा समस्या रहेको उल्लेख गर्दै राजदूत श्रीवास्तवले सामूहिक रुपमा समाधान खोज्नु पर्ने विचार व्यक्त गरे । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७