कीर्ते छाप र दस्तखत प्रयोग गरी एसबीआई बैंकबाट १० लाख बढी निकालेपछि…


१ श्रावण २०७९, आईतवार
basudev aryal kqLZvaCirA

काठमाडौँ । अर्कै व्यक्तिको दस्तखत र संस्थाको छाप कीर्ते गरी एक व्यक्तिले एसबीआई बैंकबाट १० लाख रुपैयाँ भन्दा बढी निकालेको पाइएको छ ।

मकवानपुरको थाहा नगरपालिका-६ घर भई हाल ललितपुरको सातदोबाटो बस्ने २१ वर्षीय वाशुदेव अर्यालले फल्कोनाइड इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिको नामको नक्कली छाप र प्रकाश राजभण्डारीको नक्कली दस्तखत प्रयोग गरी नेपाल एसबीआई बैंक लिमिटेडबाट १० लाख ३५ हजार रुपैयाँ निकालेको पाइएको हो ।

प्युठान जिल्ला प्युठान नगरपालिका-४ स्थायी घर भइ हाल सीतापाइला बस्ने भण्डारीले सञ्चालन गरेको सो त्रिपुरेश्वरस्थित सो संस्थाको खाताबाट रकम निकालेको थाहा पाएपछि अनुसन्धानका क्रममा प्रहरीले अर्याललाई पक्राउ गरेको छ ।

उनलाई कलंकीस्थित नेपाल एसबीआई बैंकबाट पक्राउ गरी प्रहरी वृत्त कालिमाटीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । आरोपीले सौरभ डंगोलको सवारी चालक अनुमति पत्र फेला पारी सोही नाम र सोही सवारी चालक अनुमति पत्रको प्रयोग गरी रकम निकाल्ने गरेको खुलेको छ ।

प्रहरीले उनको साथबाट सरोज डंगोलको नाममा काटिएको फल्कोनाइड इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिको नामका खाता रहेको नेपाल एसबीआई बैंक लिमिटेडको नगद ६५ हजार र २० हजारको दस्तखतसहितको चेक फेला पारेको छ।
त्यस्तै विभिन्न व्यक्तिहरूको दस्तखत अभ्यास गरिएको डायरी (नोट बुक), विभिन्न कम्पनीको सिमकार्ड थान-१६, दुई वटा मोबाइल र प्रहरी ‘तिखोकलम डट कम’ नामक सञ्चार संस्थाको पत्रकार परिचय-पत्र समेत फेला पारेको छ ।

काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइ प्रहरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अर्यालले अन्य व्यक्ति तथा संस्था समेतलाई ठगी गरेको हुन सक्ने भएकोले पीडितलाई प्रहरी वृत्त कालिमाटीमा जाहेरी दिन समेत प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७