पहिलो पटक नागढुङ्गामा ‘भेइकल स्क्यानिङ मेशिन’ जडान गरिँदै

काठमाडौँ । काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा सवारी साधन जाँच तथा अभिलेख राख्न अत्याधुनिक उपकरण जडान गरिने भएको छ ।
उपत्यका भित्रिने र बाहिरिने सवारी साधनका दैनिक ‘रेकर्ड’ ट्राफिक प्रहरीले हातले नै राख्दै आएका छन् भने आशंका लागेका सवारी साधन तथा यात्रुलाई खानतलासी गर्ने काम उनीहरुले नै गरिरहेका छन् ।
उपत्यका भित्रिने प्रमुख नाकामा अवस्थित चन्द्रागिरि नगरपालिकाले देशमा नै पहिलोपटक ‘भेइकल स्क्यानिङ मेशिन’ सो स्थानमा राख्न गृहकार्य शुरुआत गरेको छ । यसका लागि नगरपालिकाले पहिलो चरणमा नेपाल प्रहरीका उच्च नेतृत्व, सडक विभागलगायत अन्य सरोकार निकायसंँग संवाद गरिसकेको छ ।
नगर प्रमुख घनश्याम गिरीले भने, ‘काठमाडौँ उपत्यकाको सुरक्षाका दृष्टिकोणले नागढुङ्गामा ‘भेइकल स्क्यानिङ मेशिन’ राख्नु जरुरी छ । प्रविधिको युगमा पनि कति दिन हातले लेखेर सवारी साधनको रेकर्ड राख्ने ?’ उक्त मेशिनले सवारी साधनसहित चालक एवं आवश्यकताअनुसार यात्रुको पनि ‘स्क्यानिङ’ गरी अभिलेख राख्छ । यसले सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने जनाइएको छ । मेसिनको करिब रु दुई करोड ५० लाख पर्ने जनाइएको छ ।
उनका अनुसार मेसिन खरिदका लागि नगरपालिकाले उपत्यकाका अन्य पालिका तथा सरोकार निकायसँग सहकार्यका लागि आह्वान समेत गरेको छ । नगर प्रमुख गिरीले भने, ‘यो चन्द्रागिरि नगरपालिकालाई मात्र आवश्यक पर्ने कुरा होइन । यसबाट समग्र उपत्यकाको सबै पालिका एवं सङ्घीय सरकारलाई समेत फाइदा पुर्याउँदछ । यसले सुरक्षा र ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन सहयोग गर्छ । सम्भव भए नगरपालिका आफैले ‘भेइकल स्क्यानिङ मेसिन’ खरिद गर्छ नत्र अन्य उपाय अवलम्बन गर्छौ ।’