कलेज अफ मेडिकल साइन्सेसमा निःशुल्क मधुमेह स्क्रिनिङ क्लिनिक सञ्चालन


२ श्रावण २०७९, सोमबार
Medical program

चितवन : कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले मधुमेह स्क्रिनिङ क्लिनिक संचालनमा ल्याएको छ । मधुमेह (सुगर) का बिरामीहरुलाई सहज स्वास्थ्य सेवा दिनका लागि अस्पताल परिसरमा छुट्टै क्लिनिक सञ्चालनमा ल्याईएको हो ।

नेपालमा दिनहुँ मधुमेहीहरुको संख्या बृद्धि भइरहेको र मधुमेहका बिरामी अस्तपताल आउने क्रम बढेसँगै क्लिनिक सञ्चालनमा ल्याईएको अस्पतालले जनाएको छ । अस्पतालले मध्य नेपालमा पहिलो आफूहरुले मधुमेह स्क्रीनिङ क्लिनिक संचालनमा ल्याएको दावी गरेको छ ।

सुगरका रोगी तथा सम्भावित रोगीहरुले स्क्रीनिङ क्लिनिकमा समयमै निःशुल्क परीक्षण गरी स्वास्थ्य लाभ लिन सकुन् भन्ने उद्देश्यले क्लिनिक संचालनमा ल्याईएको अस्पतालले जनाएको छ ।

सम्झौता अनुसार उक्त क्लिनिकमा हप्ताको सातै दिन बिहान ६ देखि ८ बजेसम्म मधुमेह समाजमा आबद्ध तथा अन्य सम्पूर्ण मधुमेहका बिरामीहरुको निःशुल्क सुगर जाँच (मधुमेह परीक्षण) गर्न सक्नेछन् । यस्तै मधुमेहका सम्पूर्ण बिरामीहरुलाई मधुमेह स्वास्थ्य जाँच प्याकेजमा ५० प्रतिशत छुट अस्पतालले दिएको छ । यो सुबिधा एउटा बिरामीले हरेक तीन महिनामा एकपटक पाउने सम्झौतामा उल्लेख छ ।

समाजका पदाधिकारीहरुले अस्पतालका रेडियोलोजी र फार्मेसी बाहेकका अन्य सम्पूर्ण सेवामा २० प्रतिशत छुट पाउने जनाईएको छ । मधुमेह स्क्रिनिङ क्लिनिकमा फोनबाट अग्रिम नाम लेखाएर पनि सेवा लिन सकिने जनाईएको छ ।

दुबै पक्षको आपसी सहमतिमा निःशुल्क स्वास्थ्य शिविर सन्चालन गर्ने, मधुमेह रोग नियन्त्रण तथा उपचारको लागि सचेतना अभियान सञ्चालन गर्ने, स्वास्थ्य शिक्षा तथा अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिने सम्झौतामा उल्लेख छ ।

समाजका अध्यक्ष एमप्रसाद शर्माले मधुमेहका बिरामीहरुका लागि छुट्टै निःशुल्क स्क्रिनिङ क्लिनिकमा सेवा लिन पाइने र अन्य उपचारमा समेत छुट पाउनु खुशीको कुरा भएको बताउनुभयो । समाजले एमप्रसाद शर्मा, केशव देवकोटा र लक्ष्मण पौडेललाई यो सेवा सहजीकरणका लागि तोकेको छ । यसैगरी अस्पतालका तर्फबाट समुदाय स्वास्थ्य सेवा विभाग (कम्युनिटी हेल्थ सर्भिस) ले सहजीकरण गर्ने अस्पतालले जनाएको छ । अस्पतालले मधुमेह सम्बन्धी सेवाका लागि ९८०२०१०००३ नम्बरको हटलाईन टेलिफोन समेत व्यवस्था गरेको छ ।

उच्च आय भएका देशहरुको तुलनामा हाम्रो जस्तो निम्न तथा मध्यम आय भएका देशहरुमा मधुमेहको प्रकोप तिब्ररुपमा बढिरहेको छ । विश्वस्वास्थ्य संगठनका अनुसार सन् १९८० मा ४ दशमलव ७ प्रतिशत वयस्कहरु (१८ वर्ष र माथिका) लाई मधुमेह भएकोमा सन् २०१४ मा आइपुग्दा बढेर ८.५ प्रतिशत पुगेको छ ।

यो अवधिमा मधुमेह भएका व्यक्तिको सख्या झण्डै चार गुणा बढेको छ । सन १९८० मा १० करोड ८० लाख मधुमेह भएका व्यक्ति थिए भने सन् २०१४ मा आइपुग्दा यो संख्या ४२ करोड २० लाखमा पुगेको र यो दशकको अन्तसम्ममा आधा अर्ब नाघ्ने अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ । अन्य नसर्ने रोगहरुबाट हुने अकाल मृत्युदर घट्दै गएता पनि मधुमेहबाट हुने अकाल मृत्युदर घटेको छैन, बरु सन् २००० र २०१६ को वीचमा ५ प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

नेपालमा गरिएको स्टेप्स सर्भेमा लगभग ९० प्रतिशतले आफ्नो रगतमा सुगरको अवस्था के छ भन्नेजाँच गराएका थिएनन् । मलाई सुगर छ भनेर थाहा पाउनेहरु करिव २ प्रतिशत मात्र थिए । तर नेपालमा लगभग ९ प्रतिशत वयस्कहरुमा टाइप २ प्रकारको मधुमेह होला भन्ने अनुमान गरिएको छ । सुगरको मात्रा नियन्त्रणमा नरहे मृगौला, नसा तथा आँखाको समस्या निम्तिने चिकित्सकहरुको भनाई छ । लामो समयसम्म रोग निको नहुने हुनाले सबै समयमै सचेत भइ समय समयमा सुगर (मधुमेह) परीक्षण गराउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७