कामपाले खरिद गरेका तीन दमकल नेपाल आइपुग्यो


२ श्रावण २०७९, सोमबार
ktm damkal HANcZ6W8Nh

काठमाडौँ । महानगरपालिकाले अघिल्लो वर्ष नै खरिद सम्झौता गरेको तीन वटा दमकल नेपाल आइपुगेको छ । इन्डोनेसिया कम्पनीमा निर्मित तीन वटा दमकल वीरगञ्ज भन्सार कार्यालयमा आइपुगिसकेको र भोलिसम्ममा काठमाडौं आइपुग्ने महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिएका छन् ।

अघिल्लो वर्ष २०७८ साउन ३ गते मेयर विद्यासुन्दर शाक्यले महानगरको आफ्नै लगानीमा तीन वटा दमकल खरिद गर्न इन्डोनेशियन कम्पनीसँग सम्झौता गरेका थिए । ३ हजार प्लस ५०० लिटर पम्प क्षमताको तीनवटा दमकल खरिदका लागि कम्पनीसँग ५ लाख ७५ हजार ९३३ अमेरिकी डलर (करिब ६ करोड ९१ लाख रुपैयाँ) मा सम्झौता भएको थियो । सोही सम्झौता बमोजिमको दमकल नेपाल आएको श्रेष्ठले जानकारी दिए ।

हाल काठमाडौं महानगरपालिकामा विभिन्न देशहरुले अनुदानमा दिएका ६ वटा दमकल रहेका छन् । जसमध्ये तीनवटा काम गर्ने अवस्थामा र बाँकी ३ वटा काम गर्न नसक्ने भएपछि त्यसै थन्किएको महानगरको भनाइ छ ।

योसँगै महानगरपालिकाले यसै चालु आर्थिक वर्षमा समेत थप तीनवटा दमकल खरिद गर्ने गरी बजेट व्यवस्थापन गरेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । प्रति गोटा ६५ लाख रुपैयाँ गरी तीन वटाका दमकलका लागि करिब २ करोड रुपैयाँ बजेट छुट्याइएको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७