पर्यटन पुनरुत्थानका लागि योजनाबद्ध कार्यक्रम ल्याइन्छ : पर्यटनमन्त्री श्रेष्ठ


२ श्रावण २०७९, सोमबार
Jeevanram paryatanmantri
फाइल फोटो

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड-१९ महामारीबाट प्रभावित मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि मन्त्रालयले योजनाबद्ध कार्यक्रम अघि बढाउने बताएका छन् ।

नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानबारे आज मन्त्रालयमा सरोकारवालाहरुसँगको छलफलमा उनले सरकार र निजी क्षेत्रको साझेदारीमा पर्यटन पुनरुत्थानको कामलाई प्रभावकारीरूपमा अघि बढाउने विश्वास व्यक्त गरे । पर्यटनमन्त्री श्रेष्ठले पर्यटन पुनरुत्थानका लागि गठित समितिले हालै मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेकाले छलफलमा उठेका थप विषय र सुझावलाई समेटेर सोही आधारमा कार्यक्रम तयार गरिने बताए ।

उनले भने, ‘कोभिडपछिको पर्यटन पुनरुत्थानको योजना बनाउन गठित समितिले मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनमा नसमेटिएका विषयलाई छलफलबाट आएका सुझावलाई आधार मानेर तत्काल र दीर्घकालीनरूपमा गर्नुपर्ने कामको योजनाबद्ध कार्यक्रम तय गरेर अघि बढ्छौँ ।’

मन्त्री श्रेष्ठले मन्त्रालय र मातहत निकायका काम कारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाउन समयसापेक्ष नीतिगत सुधारका कामलाई पनि सँगै अघि बढाइने प्रतिबद्धता जनाए । उनले पर्यटन क्षेत्रमा भएका कतिपय विकृति नियन्त्रण गर्न सरोकारवालाको सक्रिय सहयोग चाहिने खाँचो औँल्याए ।

कोभिडले पर्यटन क्षेत्रमा पारेको प्रभाव र आगामी रणनीतिबारे राय सुझाव लिने उद्देश्यले आयोजना गरिएको छलफलमा पर्यटन क्षेत्रका अगुवा सङ्गठनका प्रमुख एवं प्रतिनिधिले पर्यटन पुनरुत्थानको कामलाई योजनाबद्ध प्रभावकारीरूपमा अघि बढाउन, नीतिगत सुधारदेखि सेवा सुदृढीकरणका बारेमा सुझाएका थिए । होटल सङ्घ नेपाल (हान) का अध्यक्ष सिर्जना राणाले राज्यले पर्यटनलाई प्राथमिकतायुक्त उद्योगका रूपमा मान्यता दिएर यस क्षेत्रको विकासका लागि लगानी आकर्षण र प्रोत्साहनका कार्यक्रम ल्याइनुपर्नेमा जोड दिए ।

‘ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले अन्तर्राष्ट्रिय प्रवद्र्धनको कामलाई प्रभावकारीरूपमा अघि बढाइनुपर्ने खाँचो औँल्याए । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले पर्वतीय पर्यटनसम्बन्धी स्पष्ट नीति आवश्यक रहेको भन्दै हिमाल आरोहण क्षेत्रलाई व्यवस्थितरूपमा अघि बढाइनुपर्ने बताए ।

पर्यटन व्यवसायी दीपक महत, शिव अधिकारी, कुमार खड्का, विभूतिचन्द ठाकुर, कुमारमणि थपलिया, घनेन्द्र श्रेष्ठलगायतले पर्यटन क्षेत्रका चुनौती र सम्भावनाबारे धारणा राखेका थिए । कार्यक्रममा मन्त्रालयका उपसचिव सरोज पोखरेलले पर्यटनको अवस्था र आगामी योजनाबारे संक्षिप्त प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७