चितवनमा एक वर्षमा गाडी दुर्घटनामा परी १४० को मृत्यु


२ श्रावण २०७९, सोमबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

चितवन । चितवनमा गत आर्थिक वर्षमा भएका विभिन्न दुर्घटनामा परी १४० जनाले ज्यान गुमाएका छन् । यहाँ भएका ५३० दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा १०६ पुरुष, ३३ महिला, ११ बालक र एक बालिका रहेका छन् । कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीका अनुसार जिल्लाका विभिन्न स्थानमा भएका दुर्घटनामा ८१० सवारी साधन परेका छन् ।

सवारी साधनमा मोटरसाइकल ४१० रहेका छन् । जिप कार ११२ ट्रक, ट्याङ्कर १०३ वटा, बस ५७, शारीरिक शक्तिबाट चल्ने ५४ वटा, ट्र्याक्टर २२ दुर्घटना भएका छन् । टेम्पो २०, माइक्रो १६, टिपर आठ र अन्य सात सवारी साधन दुर्घटनामा परेको अधिकारीले जानकारी दिए । कार्यालयको तथ्याङ्कअनुसार २६५ गम्भीर घाइते भएका छन् भने ७०६ सामान्य घाइते भएका छन् ।

गत आवमा सवारी साधनले किचेर ३४ चौपाया मरेको कार्यालयले जनाएको छ । आव २०७७/०७८ मा जिल्लामा ४३५ दुर्घटना भएको थियो । ती दुर्घटनामा १२८ को मृत्यु भएको थियो भने २९० गम्भीर घाइते भएका थिए । छ सउ ६४ वटा सवारी साधन दुर्घटना हुँदा ४१३ जना सामान्य घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

सवारी दुर्घटना बढी हुनुमा मुख्य चार कारण रहेको कार्यालयका प्रमुख अधिकारीले बताए । मानवीय कारण, सडकको अवस्था, यान्त्रिक कारण र वातावरणीय कारण रहेका छन् । मानवीय कारणअन्तर्गत चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन, ओभरटेक, ओभर लोड, मोबाइल फोनको प्रयोग, सवारी नियम उल्लङ्घन र यात्रुको गल्ती रहेको छ ।

सडकको अवस्थामा घुम्ती मोड, उकालो/ओरालो, सडक निर्माण कार्य, खाल्डाखुल्डी, जीणर् सडक मापदण्ड विपरीत सडक, साँघुरो सडक रहेका छन् । यान्त्रिक गडबडी, सवारीको अवस्था ठीक नहुनु, ब्रेक नलाग्नु, लाइट नबल्नुका कारण पनि दुर्घटना हुने गरेको छ । हुस्सु, बाढीपहिरो, वर्षा, आँधीबेहरीका कारणले दुर्घटना हुने गरेको अधिकारीले जानकारी दिए ।

जिल्लामा मुख्य सडकमा भन्दा बढी दुर्घटना भित्री सडकमा हुने गरेको भन्दै उनले यसलाई रोक्न ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको बताए । गत आर्थिक वर्षमा भित्री सडकमा मात्रै २४२ दुर्घटना भएको छ । पूर्वपश्चिम राजमार्गमा १२३, नारायणगढ मुग्लिन सडकखण्डमा ८५, शहरी सडकमा ४९ र पृथ्वी राजमार्गमा ३१ दुर्घटना भएको उनले बताए ।

कार्यालयले गत आवमा ३८ हजार ६२२ सवारी साधनलाई कारबाही गरी रु तीन करोड ३० लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । कारबाहीमा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल रहेका छन् । एक वर्षमा ११ हजार २३१ मोटरसाइकललाई कारबाही गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७