त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला सुरु


२ श्रावण २०७९, सोमबार
haleshi khotang scaled

खोटाङ । विश्व प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसीमा ‘बोलबम’ मेला सुरु भएको छ । साउन महिनाभर हलेसीमा लाग्ने बोलबम मेलाको पहिलो दिन आज (सोमबार) बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

साउनको पहिलो सोमबारदेखि सुरु भएको बोलबम मेलाका अवसरमा पैदल तथा यातायातका सवारीसाधनमार्फत गेरुबस्त्रधारी दर्शनार्थी हलेसी आउने गरेका छन् । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा लाग्ने बोलबम मेलामा नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, विराटनगर, इलामसहित भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भूटान, चीनको तिब्बतलगायतबाट दर्शनार्थी आएका छन् ।

मनोकांक्षा पूरा हुने विश्वासका साथ हलेसीमा साउनको प्रत्येक सोमबार विभिन्न नदीबाट ल्याइएका जल चढाउने गरिन्छ । हलेसीमा देश तथा विदेशबाट आएका हिन्दू धर्मावलम्बीले नुहाएर व्रत बस्नुका साथै महादेव, पार्वती र गणेशलाई जल चढाउने गर्छन् । लेसीमा विवाहिता महिलाले आफ्नो श्रीमानको दीर्घायु र परिवारको सुख समृद्धिको कामना गर्दै र अविवाहिता महिलाले असल श्रीमान् पाउने कामना गर्दै पूजाअर्चना गर्ने प्रचलन छ । पवित्र जल तथा बेलपत्रले शिवको पूजाआराधना गरे आफ्नो मनोकाङ्क्षा पूरा हुने र सुखशान्ति मिल्ने विश्वास छ ।

बोलबमका अवसरमा हलेसी आएका दर्शनार्थीका कारण अहिले हलेसीका साना तथा ठूला होटल भरिएका छन् । साउन लागेयता हलेसी र जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बाराहा पोखरीमा हरियो कपडा, चुरा र मेहन्दीमा सजिएका महिला तथा रातो गेरु रङको पहिरनमा सजिएका पुरुषको समेत चहलपहल बढेको छ । हलेसी र हलेसी ओहोरदोहोर गर्ने बाटोमा सामूहिकरुपमा ‘बोलबम’ उच्चारण गर्दै घुमफिर गर्ने दर्शनार्थीको संख्या पनि उत्तिकै देखिन्छ । स्थानीयका अनुसार हलेसी र बराहा पोखरीमा बोलबम मेला लाग्ने प्रचलन भने पाँच/छ वर्षअघिदेखि मात्र सुरु भएको हो ।

तराईबाट हलेसीसम्म आउने र जाने सडक बिस्तार भएपछि मात्र हलेसीमा बोलबम मेला लाग्न थालेको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले बताए । तराईबाट सिधै कटारी-घुर्मी-जयराम हुँदै हलेसीसम्मको यातायात सेवा बिस्तार भएपछि बोलबमका अवसरमा दर्शन गर्न र मेला भर्न जिल्ला आउने दर्शनार्थीको संख्या बर्सेनि बढ्दो रहेको हलेसी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
हलेसीमा लागेको मेलालाई व्यवस्थित गर्न सुरक्षाकर्मी, मन्दिर व्यवस्थापन समिति तथा स्थानीय क्लबमा आबद्ध पदाधिकारी बिहानैदेखि खटिएका छन् । तराईलगायत राजधानी काठमाडौँबाट सिधै यातायातमार्फत आउने दर्शनार्थी सोही दिन फर्कने गरेका छन् ।

यसैबीच हलेसीस्थित मन्दिर व्यवस्थापन समितिको कार्यालयमा लागेको ताला चार वर्षपछि खोलिएको छ । हलेसी तुवाचुङ नगरपालिकाले बनाएको एउटा र गुठी संस्थानले बनाएको अर्को मन्दिर व्यवस्थापन समिति दुवै अस्तित्वमा आएपछि विवाद चर्किदा विसं २०७५ भदौ २६ गते लागेको ताला आइतबार साँझ खोलिएको हो ।

लामो समयदेखि हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको कार्यालयमा लागेको ताला नगरप्रमुख विमला राईको पहलमा आइतबार साँझ खुलाइएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए । नगर उपप्रमुख रमेश राउत, वडाध्यक्ष कमल गिरी, हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेल, इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक सुनिल धाँजु लगायतको उपस्थिति ताला खोलिएको हो ।

हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको आस्थाको केन्द्र हलेसीमा ताला लागेको विषयले नकरात्मक सन्देश गइरहेकाले ताला खोल्न सहमती भएको नगर प्रमुख राईले बताए । नगरपालिका र प्रशासनको सिफारिसमा गुठी संस्थानले बनाएको दुवै मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा हर्कराज राई भए पनि अन्य पदाधिकारी र सदस्य हेरफेरले विवाद निम्तिएको थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७