भारत, बंगलादेश र भुटानसँग बढ्यो व्यापार घाटा


२ श्रावण २०७९, सोमबार
kakadbhitta kakadvitta vansar

झापा । पूर्वी नाका काँकडभिट्टाबाट भारत, बङ्गलादेश र भुटानसँग हुने नेपालको व्यापारमा उच्च घाटा देखिएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओलीका अनुसार आव २०७८/०७९ मा काँकरभिट्टा नाका भएर भारतबाट रु ३६ अर्ब १८ करोड मूल्य बराबरको सामान आयात भएको छ भने नेपालबाट रु १० अर्ब ६९ करोड ९५ लाखको सामान मात्र निर्यात भएको छ ।

निर्यातभन्दा आयात बढी भएको कारण भारतसँग काँकडभिट्टा नाकामार्फत नेपालको व्यापार घाटा रु २५ अर्ब ४८ करोड २७ लाख भएको देखिन्छ । काँकडभिट्टा नाकामार्फत हुने व्यापारमा बङ्गलादेश र भुटानसँग नेपालको व्यापार घाटा क्रमशः रु १० अर्ब नौ करोड ९९ लाख र रु ७४ करोड ८६ लाख पुगेको छ ।

आव २०७८/०७९ मा रु १० अर्ब ६५ करोड ३५ लाख बराबरको सामान बङ्गलादेशबाट आयात भएको थियो भने नेपालबाट रु ६० करोड ४५ लाखको मात्र सामान निर्यात भएको भन्सारको तथ्याङ्कमा उल्लेख छ । सोही अवधिमा भुटानबाट रु एक अर्ब २० करोड ५३ लाखको सामान आयात भएको थियो भने रु ४५ करोड ६५ लाखका मात्र सामान निर्यात भएको थियो ।

बङ्गलादेश र भुटानसँग नेपालले यही नाकामार्फत व्यापार गर्दै आएको छ । भारतसँग अरु नाकाबाट पनि व्यापार सञ्चालन हुन्छ । बङ्गलादेशसँगको व्यापार घाटा बर्सेनि बढ्दै गएको छ । बङ्गलादेशसँग नेपालले आव २०७७/०७८ मा रु छ अर्ब ४८ करोड ३३ लाख ४३ हजार र आव २०७६/०७७ मा रु तीन अर्ब ९९ करोड ४३ लाख ११ हजार व्यापार घाटा व्यहोरेको थियो ।

राजस्व असुली लक्ष्यभन्दा बढी
मेची भन्सार कार्यालय काँकरभिट्टाले आव २०७८/०७९ मा लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ । प्रमुख भन्सार अधिकृत ओलीले सो आवमा रु १७ अर्ब ५३ करोड १९ लाख ३३ हजार राजस्व सङ्कलन गर्न सफल भएको बताए ।

भन्सारले रु १५ अर्ब ७५ करोड ४७ लाख ८७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा १११ दशमलव २८ प्रतिशत राजस्व असुली भएको भन्सार प्रमुख ओलीले जानकारी दिए । पेट्रोलियम पदार्थ र सुपारीको आयात पूर्वी नाकाबाट बढी भएका कारण राजस्व सङ्कलनमा वृद्धि भएको हो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७