आफ्नै म्यानेजरलाई फसाउन स्कुटरमा पेस्तोल राखिदिएको आरोपमा सहकारी अध्यक्ष पक्राउ


२ श्रावण २०७९, सोमबार
anil shyamkrishna

काठमाडौँ । आफ्नै म्यानेजरलाई फसाउन स्कुटरमा गोलीसहितको पेस्तोल राखिदिएको आरोपमा ललितपुरस्थित सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अनिल श्रेष्ठ पक्राउ परेका छन् ।

प्रहरीले शुरुमा सहकारीका म्यानेजर श्यामकृष्ण श्रेष्ठलाई पक्राउ गरेको थियो । तर अनुसन्धानका क्रममा उनलाई आफ्नै अध्यक्षले फसाएको खुलेको पाइएपछि श्रेष्ठलाई पक्राउ गरिएको ललितपुरका प्रहरी प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी दिएका छन् ।
महालक्ष्मी नगरपालिका-८ लुभुका सहकारीका म्यानेजर ५४ वर्षीय श्यामकृष्ण श्रेष्ठ गत असार १३ गते पक्राउ परेका थिए । श्यामकृष्ण चढ्ने प्रदेश ३-०२-०१२ प ६२४१ नम्बरको स्कुटरमा दुई राउण्ड गोलीसहितको पेस्तोल फेला परेको थियो ।

उनलाई फसाउन सहकारीका अध्यक्ष अनिल श्रेष्ठ र पूर्व उपाध्यक्ष अख्खनदास श्रेष्ठले पेस्तोल राखेको खुलेसँगै उनीहरु पक्राउ परेका छन् । श्यामकृष्ण भने निर्दोष रहेको पाइएपछि छाडिएको ललितपुर प्रहरीले जनाएको छ । बहुविवाह मुद्दाका कारण उनीहरुबीच दुस्मनी भएको अनुसन्धानमा खुलेको छ । अनिल श्रेष्ठले सर्लाहीका शिवजी महतोकी श्रीमती सरस्वती खत्रीलाई भगाएका थिए । दोश्रो विवाह गरेपछि अनिल र सरस्वतीविरुद्ध २०७८ चैत १७ गते ललितपुरमा जाहेरी दर्ता भएको थियो ।

श्यामकृष्ण र शिवजी घनिष्ठ साथी हुन् । अनिल श्रेष्ठविरुद्ध अदालतमा समेत श्यामकृष्णले अनिलविरुद्ध साक्षी बकपत्र गरेका थिए । अनिलले सकारीबाट आफ्नो र परिवारको नाममा २ करोड ९५ लाख रुपैयाँ कर्जा लिएका थिए । तर उनले साँवा र ब्याज नतिरेपछि श्याकृष्णले अध्यक्षलाई ताकेता गरेका थिए । त्यससँगै उनीहरुको मनमुटाव बढेको थियो ।

यसअघि गत जेठ २५ गते पनि अनिलले ललितपुर परिसरमा फोन गरेर श्यामकृष्णको स्कुटरमा पेस्तोल रहेको सूचना दिएका थिए । त्यतिबेला भने प्रहरीले श्यामकृष्णलाई फेला पार्न सकेको थिएन । त्यो दिन श्यामकृष्ण सहकारीको कार्यालयमा पुगेर आफैं स्कुटरमा पेस्तोल राखिदिएको खुलेको छ ।

सहकारीको पार्किङ सीसीटीभीबाट यो पत्ता लागेको हो । दिउँसो ३ बजेर ३८ मिनेटमा यस्तो गरेको खुलेको थियो । असार १३ गते श्यामकृष्ण सहकारीको काममा स्कुटरमा ललितपुर मालपोत कार्यालयतर्फ हिँडेका थिए । त्यसलगतै अनिलले प्रहरीलाई फोन गरेर श्यामकृष्णको स्कुटरमा पेस्तोल रहेको सूचना दिएका थिए । स्कुटरको अर्को साँचो पूर्व उपाध्यक्ष अख्खनदास श्रेष्ठसँग थियो । उनले २५ दिन पहिले मात्रै अनिललाई चाबी दिएका थिए ।

श्यामकृष्णलाई फसाउन अनिलले षड्यन्त्र गरेको खुलेपछि प्रहरीले अनिललाई पक्राउ गरेको हो । श्यामकृष्णलाई भने हाजिर जमानीमा छाडिएको छ । अख्खनदास पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७