नेपाल-चीन सीमा नाकामा व्यापारिक पूर्वाधार विकास गर्ने सहमति


२ श्रावण २०७९, सोमबार
Tatopani Customs 21012017082827

काठमाडौँ । नेपाल-तिब्बत व्यापार सहजीकरण समितिको दशौँ बैठक आज (सोमबार) भर्चुअल माध्यमबाट भएको छ । उक्त वार्तामा नेपाल पक्षको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा.नारायणप्रसाद रेग्मीले गरेका थिए भने चीनको तिब्बत पक्षको नेतृत्व चीनको तिब्बत सरकारका उपमहासचिव रेन सिनपिङ्गले गरेका थिए ।

प्रवक्ता रेग्मीका अनुसार बैठकमा दुई पक्षीय व्यापारमा सहजीकरण, वैदेशिक लगानी, व्यापार पूर्वाधारको विकास, पारवहन सुविधाका साथै भन्सार प्रक्रियामा सरलीकरण लगायतका विषयमा छलफल भएको थियो ।

छलफलमा स्थलगत मार्गबाट नेपालबाट निकासी हुने माल वस्तुको ढुवानी प्रक्रियालाई अविलम्ब सुचारु गर्ने विषयका साथै नेपाली वस्तुहरूको चिनियाँ बजारमा सहज प्रवेशका बारे पनि कुराकानी भएको थियो। वार्तामा नेपाल(चीनबीच निर्बाध रूपमा दुईतर्फी व्यापार गर्न उपयुक्त विधि अवलम्बन गर्ने विषयमा समेत नेपालले कुरा राखेको थियो ।

पारवहन प्रोटोकल कार्यान्वयन, अन्तर्देशीय विशेष आर्थिक क्षेत्र स्थापना, आधिकारिक आर्थिक सञ्चालक (एईओ) को व्यवस्था, भुक्तानी सहजीकरण, बहु कार्यात्मक प्रयोगशाला स्थापना लगायतका विषयहरूमा समेत गहन छलफल भएको रेग्मीको भनाइ छ ।
झण्डै नौं घण्टा भएको वार्तामा चीन सरकारको सहयोगमा निर्माण भइरहेको रसुवाको टिमुरेमा रहेको सुक्खा बन्दरगाहलाई यथाशीघ्र सम्पन्न गर्ने कार्य अगाडि बढाउनुका साथै कोरोला, किमाथाङ्का र ओलाङचुङगोला लगायतका सीमा नाकामा व्यापारिक पूर्वाधार विकास गर्ने सहमति भएको छ ।

त्यस्तै नेपाल-चीनबीच निर्बाध रूपमा दुईतर्फी व्यापार सञ्चालन गर्न उपयुक्त विधि अवलम्बन गर्ने, भन्सार नाकाहरूमा कोभिड विरुद्धको स्वास्थ्य प्रोटोकल कडाइका साथ पालना गर्ने र कृषिजन्य, पशुजन्य र वनस्पतिजन्य उत्पादनहरू चीनतर्फ निकासी गर्नको लागि आवश्यक प्रक्रियागत विषय र प्राविधिक क्षमता अभिवृद्धि गर्न दुवै देशले सहकार्य र समन्वय गर्ने समेत सहमति भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७