भारतीय डाक्टरले दिए पाकिस्तानी किशोरीलाई ‘नयाँ जीवन’


३ श्रावण २०७९, मंगलवार
Indian Doc treats Pakistani Girl1658155716

इस्लामावाद । पाकिस्तानी किशोरी अफसिन गुलले लामो समयदेखि घाँटी बाङ्गो हुने समस्या भोग्दै आएकी थिइन् । भारतका एक डाक्टरले उनलाई सो समस्याबाट मुक्त गरेर नयाँ जीवन प्रदान गरेका छन् ।

बीबीसी उर्दुका पत्रकार रियाज सोहेलले ती किशोरीको ज्यान जोगाउने उपचारका लागि गरिएको दिल्ली यात्राबारे समाचार तयार पारेका छन् । अधिकांश बालबालिका विद्यालयका सहपाठी र छिमेकी दौतरीहरूसँग दौडँदै र खेल्दै हुर्कन्छन् । सम्भवत कहिलेकाही उनीहरू आफ्ना प्यारा खेलौना र घरपालुवा जनावरसँग पनि खेल्लान् ।

Pak Girl 2

तर, पाकिस्तानको सिन्ध प्रान्त निवासी १३ वर्षीया किशोरी अफसिन गुलको जीवन भने अरुको भन्दा पृथक रह्यो । परिवारमा सात सन्तानमध्ये सबैभन्दा कान्छी उनी कहिल्यै विद्यालय गइनन्, साथीहरूसँग खेलेको अनुभव पनि उनीसँग छैन ।

१० महिने उमेरमा आफ्नी दिदीको हातबाट खसेदेखि उनको घाँटी नब्बे डिग्री कोणमा बाङ्गिन पुगेको थियो । उनका माता पिताले उनलाई डाक्टरकहाँ लगे । डाक्टरले केही औषधि लेखिदिए । घाँटीलाई सहारा दिन एउटा पेटी पनि राखिदिए । तर, उनको अवस्था झनै खराब हुँदै गयो ।

अफसिनकी आमा जमिलान विवीले पुराना दिन यसरी सम्झिइन्, ‘उनी खान, हिँड्न र बोल्न सक्दैनथे । जमिनमा पल्टेर बस्थिन् । हामी उनलाई चाहिएको सबै मद्दत गथ्र्यौँ ।’ सेरेव्रल पल्सिबाट पनि पीडित उनले छ वर्षको उमेरमा हिँड्न र आठ वर्ष पुग्दा बोल्न सिकेकी थिइन् । १२ वर्षसम्म उनको जीवन कराँची सहरदेखि झण्डै ३ सय किमी टाढाको मिठी सहरस्थित आफ्नो घरभित्रै सीमित रह्यो ।

तर, गत मार्चमा एजना भारतीय डाक्टरले दिल्लीमा उनको बाङ्गो घाँटीको सफल शल्यक्रिया गरी उनको जीवनमा अमूल्य खुशी दिएका छन् । दिल्लीस्थित एपोलो हस्पिटलका मेरुदण्डको जटिल शल्यक्रियासम्बन्धी विशेषज्ञ डा. राजागोपालन कृष्णनले उनको निःशुल्क उपचार गरिदिएका हुन् ।

महिनौँपछि अफसिन अन्नतः आफैं हिंड्न, खान र बोल्न सक्षम भएकी छन् । शल्यिक्रियाका बेलाको उनको घाउ निको भइसकेको छ । डा. कृष्णनले प्रत्येक साता स्काइपमार्फत उनको स्वास्थ्य जाँच्ने गरेका छन् ।

अफसिनका दाजु याकूव कुम्वर भन्छन्, ‘उनी अलि कमजोर छिन् । अझैसम्म पनि विद्यालय जान सकेकी छैनन् । तर, डाक्टरले समयसँगै सबै ठिक हुन्छ भनेका छन् । डाक्टरले हाम्रा बहिनीलाई बचाइदिएकोमा हामी निकै खुशी छौँ । हाम्रा लागि डाक्टर देवदूत नै हो ।’

डा. कृष्णन भन्छन्, ‘अफसिन एटलान्टो-एक्जिल रोटटरी डिस्लोकेसनबाट पीडित छिन् । यसले घाँटीलाई चोट पुर्‍याउने गर्दछ । सम्भवत यो विश्वकै पहिलो घटना हो ।’ सन् २०१७ मा एउटा न्युज वेबसाइटमा अफसिनको बारेमा लेख सार्वजनिक भएपछि उनको अवस्थाबारे विश्वको ध्यान आकर्षण भएको हो । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७