राप्ती राजमार्गको ठाउँ-ठाउँमा पहिरो, यातायात अवरुद्ध


३ श्रावण २०७९, मंगलवार
pahiro 4
फाइल फोटो

सल्यान । लगातारको वर्षाका कारण सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोला नजिकै ठाउँ-ठाँउमा पहिरो जाँदा राप्ती राजमार्ग सोमबार राति साढे १२ बजेदेखि अवरुद्ध भएको छ ।

वर्षाका कारण निरन्तर ढुंगा र लेदोसहितको माटो खसिरहेको र पन्छाउन कठिन भएकाले राप्ती राजमार्ग अवरुद्ध भएको हो । पहिरोका कारण राप्ती राजमार्ग अवरुद्ध भएपछि दर्जनौं गाडीमा सवार यात्रु बीच सडकमै अलपत्र परेका छन् ।

वर्षातका कारण चोरखोला नजिकै चार स्थानमा ठूलो पहिरो गएकाले राप्ती राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन् । सुरक्षाकर्मी डोजरसहित पहिरो हटाउन रातिदेखि खटिए पनि पहिरो खसिरहेकाले पन्छाउन कठिन भएको उनले जानकारी दिए । उनका अनुसार सुरक्षाकर्मीको टोलीले राति एक बजेतिर डोजर प्रयोग गरेर पहिरो हटाई सडक खुलाएको थियो । वर्षात नरोकिँदा फेरि ठाँउठाँउमा पहिरो गएपछि सडक पुनः अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउन सुरक्षाकर्मी डोजरसहित खटिरहेको उनले जानकारी गराए । सडक निर्माणका क्रममा वर्षातको समयमा मात्र नभई हिउँदमा समेत सुख्खा पहिरो जाने गर्दा राप्ती राजमार्गमा आउजाउ गर्दा सधैं समस्या हुने गरेको छ । राप्ती राजमार्ग स्तरवृद्धिको काममा ठेकेदार कम्पनीले गरेको लापरबाहीका कारण चोरखोला आसपासमा सधैं पहिरोको जोखिम रहँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७