३८ स्वास्थ्यकर्मीको करार नथपिंदा बेनी अस्पतालको सेवा अस्त-व्यस्त


३ श्रावण २०७९, मंगलवार
beni hospital

म्याग्दी । स्वास्थ्यकर्मी अभावमा बेनी अस्पतालको सेवा प्रभावित भएको छ । कोरोना कोषबाट तलब भत्ता पाउने गरी करारमा आएका ३४ र दातृ संस्था ‘निक साइमन इन्स्टिच्युट’ (एनएसआइ) ले पठाएको चार स्वास्थ्यकर्मीको अवधि एकैपल्ट सकिँदा सेवा प्रभावित भएको हो ।

कोभिड कोषअन्तर्गत नियुक्त भएका १३ नर्स, चार अनमी, तीन ल्याब टेक्निसियन, तीन हेल्थ असिस्टेन्ट, दुई अहेव, दुई फार्मेसी सहायक, एक ल्याब असिस्टेन्ट र दुई हेल्थ असिस्टेन्टको असार मसान्तदेखि करार अवधि सकिएको छ ।

असार मसान्तबाट एनएसआइको परियोजना सकिएकाले एक मेडिकल अधिकृत, एक एनेस्थेसिया सहायक, एक स्टाफ नर्स र एक बायोमेडिकल इक्युपमेन्ट टेक्निसियन अस्पतालबाट बाहिरिएका छन् । एनेस्थेसिया असिस्टेन्ट नै नभएपछि बेहोस बनाएर गर्नुपर्ने सम्पूणर् उपचार सेवा बन्द भएको छ । अस्पतालले विज्ञप्ति प्रकाशित गरी ३८ स्वास्थ्यकर्मीको म्याद थप नहुँदा सेवा प्रभावित भएको जनाएको छ । साना शल्यक्रिया, शल्यक्रिया गरी सुत्केरी गराउने (सुरक्षित सुत्केरी सेवा) र सर्जिकल गर्भपतनसहित बिरामी बेहोस बनाई गरिने सबै उपचार बन्द भएको विज्ञप्तिमा उल्लेख छ ।

गत असार महिनामा बेनी अस्पतालमा सुरक्षित प्रसूति सेवा लिएका ९२ मध्ये १८ जनाको शल्यक्रिया गरिएको थियो । सेवा बन्द हुदा सुत्केरी हुने समय पुगेका गर्भवती बागलुङ वा पोखरा पुग्नुपर्ने भएको गुनासो गरेका छन् । अस्पतालमा आठ कन्सल्टेन्ट चिकित्सक र चार मेडिकल अधिकृतसहित ५९ जनाको दरबन्दी भए पनि हाल १९ स्वास्थ्यकर्मी मात्रै छन् । ४० जना अपुग छन् । बेनी अस्पतालका प्रमुख जितेन्द्र कँडेलले करार अवधि सकिएपछि भएका स्वास्थ्यकर्मीको बिदाइ र थप जनशक्ति व्यवस्थापन नहुँदा समस्या भएको बताए ।

मेडिकल, सर्जिकल, बालरोग, स्त्रीरोग, नाक-कान-घाँटी समेतका वार्ड स्थगित गरी प्रसूति, जनरल वार्ड मात्र चलाउनुपर्ने अवस्था आएको उनले बताए । एनेस्थेसियासँग सम्बन्धित जनशक्ति नहुँदा शल्यक्रिया प्रभावित बनेको छ । हाल दरबन्दीका १९ बाहेक छात्रवृत्ति करारका तीन कन्सल्टेन्ट, चार मेडिकल अफिसर र अस्पताल व्यवस्थापन समितिले नियुक्त गरेका अन्य स्वास्थ्यकर्मी छन् । डायलसिस, फार्मेसी, विलिङ, दर्ता, इन्डोर र आकस्मिकमा आन्तरिक स्रोतबाट व्यहोर्ने गरी कर्मचारी नियुक्त गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए ।

५० शैंया क्षमताको अस्पतालमा बालरोग, स्त्रीरोग, हाडजोर्नी, फिजियोथेरापी, रेडियोलोली, शल्यक्रिया, एनेस्थेसियासमेत सातवटा वार्ड (विभाग) छ । सोहीअनुसार प्रत्येक वार्डमा एक विशेषज्ञ चिकित्सक, एक मेडिकल चिकित्सक, चार नर्सले सेवा दिने गरेका थिए । चार मेडिकल अधिकृतको दरबन्दी भएकामा दुई जना अध्ययन बिदामा छन् । एक जना रिक्त छ । बाँकी नवौँ तहका मेडिकल अफिसर रहेका चिकित्सक कँडेलले कार्यालय प्रमुखको रूपमा प्रशासनिक काममा समय दिने गरेका छन् । आठ नर्समध्ये पाँच मात्र कार्यरत छन् ।

गण्डकी प्रदेश सरकारले कोरोना नियन्त्रण तथा उपचार कोषबाट तलबभत्ता दिने गरी गत पुसमा नियुक्त गरेका ३५० स्वास्थ्यकर्मीको करार अवधि सकिएपछि प्रदेशका ११ जिल्लाका अस्पतालको सेवामा असर परेको छ । कोरोना कम भएको अवस्थामा स्वास्थ्यकर्मी जिल्ला अस्पतालमा रहेर अन्य बिरामीको उपचारमा खटिएका थिए । नयाँ कर्मचारी नियुक्त नगरी करारमा रहेका कर्मचारीलाई हटाउँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७