कांग्रेस संस्थापनले अनिता बिन्दुलाई दियो युनियन अध्यक्षको टिकट


३ श्रावण २०७९, मंगलवार
anita

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले नेपाल प्रेस युनियनको अध्यक्षमा अनिता बिन्दुलाई उठाउने भएको छ । नेपाल पत्रकार महासंघकी पूर्व उपाध्यक्ष समेत रहेकी बिन्दुलाई सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले युनियन अध्यक्षमा उठाउने निर्णय गरेको हो । अध्यक्षको दौडमा रहेका अर्का दाबेदार सरोजराज अधिकारी अब वरिष्ठ उपाध्यक्षमा उठ्ने भएका छन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीष्मराज ओझाले महासचिवमा प्रतिस्पर्धा गर्ने पक्का भएको छ । त्यस्तै महासचिवमा दाबी गरेका केशव सावद अब उपमहासचिवमा लड्ने भएका छन् । अनिताले मंगलबार दिउँसो १ बजे होटल इन्द्रेणीबाट आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गर्ने भएकी छन् । त्यसैगरी उपाध्यक्ष, उपमहासचिव र कोषाध्यक्षसहित अन्य पदमा उठाउने उम्मेदवारबारे संस्थापनले छलफल गरिरहेको छ ।

युनियनको अध्यक्षमा संस्थापन इतरबाट शिव लम्सालले दाबी गरिरहेका छन् । त्यसैगरी लम्सालसँगै दीपक आचार्य पनि अध्यक्षको दौडमा छन् । इतरबाट महासचिवमा खिला कार्की, नकुल अर्याल, दिलिप पौडेल र रमेश वाग्ले दौडमा छन् । युनियनको उपमहासचिवको दौडमा युवराज गौतम, सुलोचना गौतम, भुवन शर्मा, कुसुम बिक पनि छन् । कोषाध्यक्षमा माधव धिताल, पदमराज जोशी र मित्र भण्डारीले इच्छा देखाएका छन् ।

सचिवमा खगेन्द्र भण्डारी, मेनुका ढुंगाना, लोकेन्द्र भट्ट, विजय रेग्मी, तीर्थ बस्नेत, कालिका महत, राधा खनाल, टीकाराम सुनार र एलपी देवकोटा पनि दौडमा छन् । यसअघि युनियनको नेतृत्व सर्वसम्मत चयन गर्ने कोसिस भएको थियो। संस्थापनले अध्यक्ष र इतरले महासचिव लिने गरी छलफल भएको थियो । तर सहमति हुन नसकेपछि हेटौँडामा आगामी ६ र ७ गते हुने महाधिवेशनमा निर्वाचनबाटै नेतृत्व छानिने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७