अब नारायणी नदीले कहिले दुःख दिने छैन : मेयर दाहाल


३ श्रावण २०७९, मंगलवार
renu dahal 1

चितवन । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले अब नारायणी नदीले कहिले पनि दुःख नदिने दाबी गरेकी छन् । आज (मंगलबार) भरतपुर-१७ मा रहेको जनकल्याण दुग्ध सहकारी संस्थाको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले नारायणी नदीको दिगो ढङ्गबाट तटबन्धको काम अगाडि बढेको बताएकी छन् ।

नारायणी नदीबाट पीडित भएका नागरिक अब त्रासमा बस्नुपर्ने अवस्थाको दीर्घकालीन रूपमा समधान भएको मेयर दाहालले दाबी गरिन् । ‘नारायणी नदीबाट हुने जनधनको क्षति सदाका लागि अन्त्य हुँदैछ’, उनले भनिन्, ‘विगतमा वर्षाको समयमा टालटुल पार्ने काम हुन्थ्यो । ५० लाख रुपैयाँभन्दा बढीको काम हुने थिएन । तर अहिले पौने पाँच अर्ब रुपैयाँ बजेट विनियोजन भइ चार वटा प्याकेजको ठेक्का भइसकेको छ । अब शिवघाटदेखि नारायणगढ बजारसम्मको टेन्डर भइसकेको छ । बाढी रोकिएपछि तीव्र गतिमा काम अगाडि बढ्छ ।’

मेयर दाहालले मेघौली, गोलाघाट, शिवघाट हुँदै नारायणगढ बजारसम्म तटबन्ध निर्माणको काम सम्पन्न भएसँगै नारायणी छेउमा रहेका बस्तीका बासिन्दाले विगतमा जस्तो वर्षा लाग्दा चिन्तित हुन नपर्ने उल्लेख गरिन् । नारायणीको समस्याबारे विगतमा यहाँका बासिन्दाले महानगरपालिकालाई ध्यानाकर्षण गरेकै कारण सङ्घीय सरकारलाई पहल गरी यति ठूलो बजेट ल्याउन सकेको उनको भनाइ छ । विगतको पाँच वर्ष पनि नागरिकको चाहनाअनुसार विकासका कामलाई अगाडि बढाएको स्मरण गर्दै मेयर दाहालले अबको कार्यकालमा जनप्रतिनिधि होस् त यस्तो होस् भन्ने उदाहरण पेस गर्ने गरी काम गर्ने बताइन् ।

भरतपुर महानगरपालिकामा भइरहेको सडक निर्माणमा ३० प्रतिशत सडकहरू ठेकेदारको लापर्बाहीका कारण अलपत्र परेको यो विषयमा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको धारणा राखिन् । सडक निर्माणको कामलाई निरन्तरता दिन महानगरपालिकाले ठेकेदारहरूलाई कालोसूचीमा राख्ने, ठेक्का रद्द गर्ने लगायतको कामलाई अघि बढाएको मेयर दाहालको भनाइ थियो ।

त्यस्तै मेयर दाहालले भरतपुरको कृषि क्षेत्रको विकासका लागि विभिन्न अनुदानको कार्यक्रमलाई अगाडि बढाएको पनि उल्लेख गरिन् । विशेष गरी पश्चिम चितवनका खेतीयोग्य जग्गामा उत्पादन गर्न सिँचाइका लागि हजारभन्दा बढी बोरिङहरू अनुदानमा वितरण गरेको उनले जानकारी दिइन् । उनले अबको केही वर्षमा पश्चिम चितवनमा सिँचाइका कारण कुनै पनि खेत बाँझो राख्न नपर्ने उल्लेख गरिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७